नेभिगेशन
अर्थतन्त्र

घुसको ६ लाखसहित पक्राउ परेका दुईविरुद्ध मुद्दा

काठमाडौं । घुसको रकमसहित पक्राउ गरिएका इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियरसहित दुई कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छैटौं तहका इन्जिनियर डिल्लीराज खड्का र आठौं तहका लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार इन्जिनियर खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराउने, तेस्रो पक्षबाट गरिने परीक्षण तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनाका आधारमा आयोगको केन्द्र र इटहरीस्थित कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई झापाको दमकस्थित एक खाजाघरबाट असार अन्तिम साता ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उक्त रकम खड्काले मात्र नभई गाउँपालिकाका लेखा अधिकृत भट्टराईसँगको आपसी मिलेमतो र योजनामा माग गरी लिएको खुलेको आयोगले जनाएको छ । पुलको डिजाइन तथा पुनःडिजाइन, तेस्रो पक्षबाट हुने परीक्षण र ठेक्कासम्बन्धी बिलको भुक्तानी प्रक्रिया आफूहरूले सहजीकरण सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पैसा मागिएको आयोगको दाबी छ ।
ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि भुक्तानीका लागि पेस गरिएको बिल रकम भुक्तानी गराइदिने भन्दै दुवै कर्मचारीले घुस मागेको अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ । दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर आयोगको छ । सोही आधारमा ६ लाख रुपैयाँलाई बिगो कायम गरी दुवैलाई कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्