नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया बैंकद्वारा विद्यालयमा सहयोग प्रदान

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ताथली, चाँगुनारायण नगरपालिका, भक्तपुरस्थित विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र र पालडाँडा, नवलपरासीस्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र ठोकर्पा, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयमा सहयोग प्रदान गरेको छ । 
विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विभिन्न सहयोग प्रदान गरेको हो ।   
बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्ययनरत ५०६ भन्दा धेरै विद्यार्थीहरुलाई डिजिटल पहुँच बढाउँदै डिजिटल शिक्षा वृद्धि गर्ने उद्देश्य अनुरुप डिजिटल बोर्ड प्रदान गरेको छ । बैंकका सुनवल सर्कल हेड तिलक राम खनाल तथा बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाँईलाई उक्त सहयोग प्रदान गरेका थिए । त्यसैंगरी, बैंकले विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रद्वारा सञ्चालित अटिजम स्कुल भवन पूर्ण रुपमा सञ्चालनको लागि विद्युतीय प्रणाली (वायरिङ्ग) र उक्त भवनभित्र रङ्गरोगनका लागि पनि बैंकले विशेष सहयोग प्रदान गरेको छ । 
बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलज्यू र भक्तपुर शाखा प्रमुख  इश्वर जिसीले पुनस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई सहयोग हस्तान्तरण गरेका थिए । त्यसैगरी, बैंकले ठोकर्पा, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ३०२ भन्दा धेरै विद्यार्थीहरुका लागि झोला र प्रोजेक्टर प्रदान गरेको छ । बनेपा सर्कल हेड अमृत मान श्रेष्ठ र इएसजी एण्ड सस्टेनेबल बैंकिङ्ग विभाग प्रमुख  सोफी अधिकारी पौड्यालले उक्त विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर कार्कीलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।   
बैंकले उक्त विद्यालयहरु तथा पुनस्र्थापना केन्द्रलाई उपलब्ध गराएको सहयोगले विद्यालय तथा पुर्नस्थापना केन्द्रका विद्यार्थीहरुको सिकाई र पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सुविधा सम्पन्न शैक्षिक एवम् पुनस्र्थापना वातावरण निर्माण गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्