नेभिगेशन
अर्थतन्त्र
सम्पत्ति शुद्धीकरण मुद्दा

व्यवसायी दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को गम्भीर आरोप लागेका विवादित व्यवसायी दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासले थुनछेक बहसपछि भट्टलाई हिरासतमा राखेरै मुद्दाको किनारा लगाउनुपर्ने आदेश जारी गरेको हो।
राजनीतिक तथा प्रशासनिक पहुँचको दुरूपयोग गरी ठूला सरकारी ठेक्कापट्टा हात पार्ने र शंकास्पद आर्थिक कारोबारमार्फत अवैध धन आर्जन गरेको अभियोग भट्टमाथि छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले गत जेठ २८ गते भट्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालत प्रशासनका अनुसार उनीमाथि २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा चलाइएको हो। थुनछेक बहस सकिएसँगै अदालतले भट्टलाई धरौटीमा छाड्न अस्वीकार गर्दै कारागार चलान गर्न आदेश दिएको हो।
यो आदेशसँगै आर्थिक अपराध र राजनीतिक संरक्षणमा हुने नीतिगत भ्रष्टाचारविरुद्धको कानुनी कारबाहीमा यसलाई एक महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्