नेभिगेशन
मनोरञ्जन

विश्व फेसनमा नयाँ नाम ‘फेकल म्याटर’

हलिउड अभिनेत्री जेन्डायाले ‘द ओडीसी’को न्यूयोर्क प्रिमियरमा लगाएको सेतो प्वाँखयुक्त एन्जेलिक गाउनले सबैको ध्यान तान्यो तर पोसाक बनाउने फेसन हाउसको नाम भने पोसाकभन्दा बिल्कुलै फरक, ‘मातिएर फेकाल’ अर्थात् ‘फेकल म्याटर’ (मल) थियो ।
मोन्ट्रियलमा एक दशकअघि विद्यार्थी जीवनमै स्टिभन राज भास्करन र हाना रोज डाल्टनले सुरु गरेको यो पेरिसस्थित उच्चस्तरीय फेसन ब्रान्ड अहिले विश्व फेसनमा तीव्र गतिमा चर्चित भइरहेको छ । उनीहरूले डिपपजस्ता दोस्रो हातका सामान बिक्री हुने प्लेटफर्मबाट यात्रा सुरु गरी पेरिस फेसन विकसम्म पुगेका हुन् ।
ब्रान्डको अनौठो नाम पनि फेसन उद्योगप्रतिको उनीहरूको दृष्टिकोणसँग जोडिएको छ । डाल्टनका अनुसार उद्योगको फोहोर पक्षलाई जनाउने एउटा अश्लील शब्दलाई वैज्ञानिक र ‘ग्ल्यामरस’ सुनिने बनाउन फ्रेन्चमा ‘मातिएर फेकाल’ नाम राखिएको हो । भास्करनले यसले फेसन उद्योगको अपव्ययी पक्षलाई चुनौती दिने उद्देश्य बोकेको बताएका छन् ।
सेतो मेकअप, खौरिएका टाउका र भौं, मानव खुट्टाजस्ता देखिने छालाका जुत्ता तथा असामान्य डिजाइन उनीहरूको पहिचान बनेका छन् । लेडी गागा, म्याडोना, काइली जेनर, डेमी मुरलगायत चर्चित कलाकारले उनीहरूका डिजाइन लगाइसकेका छन् ।
२०२४ मा डोभर स्ट्रिट मार्केटको सहयोग पाएपछि ब्रान्डले थप गति लियो । गत वर्ष पेरिस फेसन विकको आधिकारिक क्यालेन्डरमा प्रवेश गरेको यस ब्रान्डले मार्चमा ‘द वन पर्सेन्ट’ नामक संग्रह सार्वजनिक गरेको थियो ।
जेन्डायाको स्वर्गदूतजस्तो सेतो पोसाकदेखि गागाको कालो प्वाँखयुक्त गाउनसम्म, ‘फेकल म्याटर’ अहिले परम्परागत फेसनभन्दा बिल्कुलै फरक संसार निर्माण गरिरहेको छ । आगामी सेप्टेम्बरको पेरिस फेसन विकमा उनीहरूको नयाँ प्रस्तुति हेर्न फेसनप्रेमी उत्सुक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्