नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय सहकारी बैंक नाफामा, पुँजी पर्याप्ततामा पनि सुधार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०८२÷८३ मा करिब ४९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष घाटामा रहेको बैंकले चालु वर्षमा उल्लेख्य वित्तीय सुधार गरेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात पनि बढेर ११.६६ प्रतिशत पुगेको छ । यसले बैंकको वित्तीय स्थायित्व र जोखिम धान्न सक्ने क्षमता बलियो बनेको देखाएको छ । अघिल्लो त्रैमाससम्म ४.४२ प्रतिशत रहेको पुँजी पर्याप्तता छोटो अवधिमै उल्लेख्य सुधार भएको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशतभन्दा अनुपात माथि पुगेको छ । यसअघि न्यून रहेको पुँजी पर्याप्तता बैंकका लागि प्रमुख वित्तीय चुनौती बनेको थियो । चौथो त्रैमासको वित्तीय विवरणले भने उक्त चुनौती क्रमशः घट्दै गएको देखाएको छ ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेर ८७ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसले बैंकको मुख्य व्यावसायिक गतिविधि तथा आम्दानी क्षमतामा सुधार भएको देखाउँछ । सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सकारात्मक वृद्धि भएको बैंकले जनाएको छ ।
नाफामा फर्किएसँगै बैंकको सञ्चित नोक्सानीमा समेत उल्लेख्य कमी आएको छ । यद्यपि सञ्चित नोक्सानी अझै पूर्णरूपमा अन्त्य भइसकेको छैन । त्यसैले आगामी वर्षमा नाफालाई निरन्तरता दिँदै सञ्चित नोक्सानी घटाउनुपर्ने चुनौती बाँकी छ ।
बैंकको वित्तीय सुधारका बाबजुद निष्क्रिय कर्जा भने गम्भीर चुनौतीका रूपमा देखिएको छ । चौथो त्रैमाससम्म निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । यो अनुपात उच्च रहनुले बैंकको कर्जा गुणस्तर अझै कमजोर रहेको संकेत गर्छ ।
यसले कर्जा असुली र जोखिम व्यवस्थापनलाई आगामी दिनमा प्राथमिकता दिनुपर्ने देखाएको छ । बैंकले खराब कर्जा नियन्त्रण र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउने जनाएको छ ।
त्यस्तै, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्दै संस्थागत सुशासन बलियो बनाउने योजना अघि सारेको छ । प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा फर्किनुलाई महŒवपूर्ण उपलब्धि भनेका छन् । उनका अनुसार पुँजी पर्याप्तता सुधार हुनु संस्थागत सुधार यात्राको अर्को महŒवपूर्ण उपलब्धि हो ।
आगामी दिनमा निष्क्रिय कर्जा घटाएर पुँजी आधार थप बलियो बनाउने लक्ष्य रहेको छ । समग्रमा वित्तीय विवरणले बैंक सुधार र पुनर्संरचनाबाट स्थायित्वतर्फ अघि बढेको देखाएको छ । तर दीर्घकालीन वित्तीय स्वास्थ्यका लागि कर्जा गुणस्तर सुधार्नुपर्ने चुनौती अझै कायमै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्