नेभिगेशन
अर्थतन्त्र

एक्स्पोमा गाडी किन्नेलाई ‘स्पट फाइनान्सिङ’

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा गाडी किन्न चाहने ग्राहकलाई बैंकहरूले सहज फाइनान्सिङ सुविधा दिएका छन् । मेलामा सवारीसाधन छनोट गरेपछि ग्राहकले त्यहीँबाट कर्जाका लागि प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ ।
यसले गाडी खरिदका लागि ठूलो रकम तत्काल जुटाउनुपर्ने ग्राहकको भार केही सहज बनाएको छ । नाइमा एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ साझेदार सिद्धार्थ र एनएमबि बैंकले विशेष योजना ल्याएका छन् ।
बैंकहरूले मेलास्थलमै स्टल राखेर ग्राहकलाई कर्जा, ब्याजदर, डाउन पेमेन्ट र प्रक्रियाबारे जानकारी दिइरहेका छन् । ग्राहकले आफूलाई मन परेको गाडी  छनोट गरेपछि बैंकको स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन सक्छन् । कतिपय बैंकले क्यूआर कोडमार्फत आवेदन दिन सकिने सुविधासमेत उपलब्ध गराएका छन् । बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियममा कर्जा उपलब्ध गराइरहेका छन् । कर्जाको सेवा शुल्क पनि ०.५ प्रतिशतमा सीमित गरिएको बैंकहरूले बताएका छन् ।
मेलालाई लक्षित गर्दै ब्याजदरमा परिमार्जन गरिएकाले ग्राहकले तुलनात्मक रूपमा आकर्षक दरमा कर्जा पाउने अवस्था बनेको छ । गाडीको मूल्यअनुसार डाउन पेमेन्ट व्यवस्थापनमा पनि ग्राहकलाई सहजीकरण गरिएको बैंकहरूको भनाइ छ ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल विष्टले मेलाका अवलोकनकर्तामा कर्जाबारे चासो बढेको पाइएको बताए ।
‘गाडी छनोट गरेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने ग्राहक बढिरहेका छन्,’ उनले भने । 
उनका अनुसार क्यूआर कोड स्क्यान गरेर कर्जाका लागि आवेदन दिने ग्राहकको संख्या पनि उल्लेख्य छ । सवारी बिक्रेता कम्पनीका आकर्षक योजनालाई बैंकको कर्जा सुविधाले थप सहयोग पु¥याएको उनको भनाइ छ । मेलाबाट कर्जाका लागि नाम दर्ता गराउने ग्राहकलाई सम्बन्धित शाखासम्म पु¥याउने काम पनि भइरहेको छ ।
सिद्धार्थ बैंक लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले ग्राहकलाई शाखासँग जोड्न सहजीकरण गरिएको बताए । ‘मेलामा संकलित विवरण केन्द्रीय कार्यालय पठाउँछौं र त्यहाँबाट ग्राहकलाई सम्पर्क गरिन्छ,’ उनले भने । आवश्यकताअनुसार केही ग्राहकलाई मेलास्थलबाटै सम्बन्धित शाखासँग जोड्ने गरिएको उनले बताए ।
एनएमबि बैंकले पनि एक्स्पोमा ग्राहकलाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जनाएको छ । बैंककी सम्पर्क रिलेसनसिप म्यानेजर समीक्षा पन्तले नाइमालाई लक्षित गरेर ब्याजदर परिमार्जन गरिएको बताइन् । ‘मेलामा आउने ग्राहकबाट कर्जाप्रति राम्रो प्रतिक्रिया पाइरहेका छौं,’ उनले भनिन् ।
मेलामा ५० भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
४० भन्दा बढी नयाँ मोडलका गाडी मेलाकै अवसरमा सार्वजनिक भइसकेका छन् । दुईपांग्रे सवारीसाधनतर्फ पनि नयाँ मोडल सार्वजनिक गर्ने क्रम जारी छ । मेलामा प्रदर्शन गरिएका अधिकांश नयाँ गाडी विद्युतीय छन् । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड पनि एक्स्पोमा आकर्षणको केन्द्र बनेका छन् । 
विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा ग्राहकको विशेष चासो देखिएको छ । नयाँ प्रविधि, मूल्य र सुविधाबारे बुझ्न दैनिक ठूलो संख्यामा ग्राहक मेला पुगिरहेका छन् । गाडी खरिदका लागि बैंकको कर्जा सुविधा सहज भएपछि ग्राहकको खरिद निर्णयमा पनि प्रभाव परेको छ ।
गाडीको मूल्यसँगै डाउन पेमेन्ट र मासिक किस्ताबारे बैंकका प्रतिनिधिले मेलास्थलमै जानकारी दिइरहेका छन् । यसले गाडी किन्न चाहने ग्राहकलाई बिक्रेता र बैंकबीच समन्वय गर्न सहज बनाएको छ ।
मुलुकमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले  आयोजित एक्स्पोमा प्रदर्शनमा राखिएका अधिकांश सवारी विद्युतीय छन् । दोस्रो संस्करणको एक्स्पो आगामी आइतबारसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । सवारीसाधनका नयाँ विकल्पसँगै सहज कर्जा सुविधा एक्स्पोको महŒवपूर्ण आकर्षण बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्