नेभिगेशन
अर्थतन्त्र

नाइमामा २० हजार छुट

काठमाडौं  ।  नाइमा गतिशीलता प्रदर्शनीको अवसरमा सिएफमोटो मोटरसाइकल तथा जिहो विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ग्राहककेन्द्रित ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सिएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ । कुपन प्राप्त गर्ने ग्राहकले आफूले प्रयोग गर्न सक्नेछन् भने आवश्यकताअनुसार परिवारका सदस्य, साथीभाइ वा अन्य व्यक्तिलाई समेत हस्तान्तरण गर्न सक्नेछन् ।
कम्पनीका अनुसार कुपन हस्तान्तरण गर्न सकिने भएकाले आफूले प्रयोग नगर्ने अवस्थामा पनि ग्राहकले यसको लाभ अर्को व्यक्तिलाई दिन सक्नेछन् । सम्बन्धित व्यक्तिले सिएफमोटो वा जिहो खरिद गर्दा उक्त छुट प्रयोग गर्न सक्नेछ ।
कम्पनीले यस योजनालाई परम्परागत छुट योजनाभन्दा फरक ग्राहक लाभका रूपमा प्रस्तुत गरेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार छुट प्रयोग गर्न वा आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने भएकाले योजनाले खरिदकर्तालाई थप विकल्प दिने कम्पनीको भनाइ छ ।
सिएफमोटोको दुई सय पचास दोहोरो इन्धन प्रणाली भएको मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि थप सामग्रीको प्याकेज पनि उपलब्ध गराइने भएको छ ।

यस मोटरसाइकलमा पाँच वर्ष वा ६० हजार किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यस अवधिसम्मको इन्जिन प्रत्याभूति उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले मोटरसाइकलको दीर्घकालीन प्रयोग तथा बिक्रीपछिको सेवाप्रति ग्राहकको भरोसा बढाउने अपेक्षा गरिएको छ ।
ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई सहज बनाउन अफरअन्तर्गत चारवटा थप सेवा कुपनसमेत उपलब्ध गराइनेछ । नियमित मर्मतसम्भारका क्रममा यी कुपनबाट ग्राहकले थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सिएफमोटो तथा जिहोका हरेक मोडल खरिदमा निःशुल्क पूर्णमुखी सुरक्षात्मक टोपी उपलब्ध गराइने भएको छ । सवारी सुरक्षालाई प्राथमिकता दिँदै यस्तो सुविधा ल्याइएको कम्पनीको भनाइ छ ।
ग्राहकलाई खरिदमा सहजता प्रदान गर्न सरल किस्ताबन्दी सुविधा उपलब्ध गराइनेछ । पुरानो मोटरसाइकल परिवर्तन गरी नयाँ सवारी लिन चाहने ग्राहकका लागि पुरानो मोटरसाइकल साटफेरको सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्