नेभिगेशन
अर्थतन्त्र

७० अर्ब नाफाका साथ बैंकहरुको नाफामा ३२ प्रतिशतको उछाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेको, कर्जाको ब्याजदर तुलनात्मक रूपमा न्यून रहेको र तरलता सहज अवस्थामा रहे पनि निजी क्षेत्रबाट नयाँ कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको अवस्थामा वाणिज्य बैंकहरूको नाफामा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
 अघिल्लो आर्थिक वर्ष २०८÷८२ मा यी बैंकको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ मात्र थियो । यस आधारमा एक वर्षमै बैंकहरूको सामूहिक खुद नाफा १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँ अर्थात् ३२ दशमलव २७ प्रतिशतले बढेको हो ।
नबिल सबैभन्दा अगाडि, कुमारीको ठूलो छलाङ
कुल खुद नाफाको आकारमा नबिल बैंक पहिलो स्थानमा छ । बैंकले गत आर्थिक वर्ष ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँको तुलनामा नबिलको नाफा ३३ दशमलव ५० प्रतिशतले बढेको हो ।
नाफाको आकारमा कुमारी बैंक दोस्रो स्थानमा पुगेको छ । कुमारीले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँमा सीमित रहेको नाफा एक वर्षमै ३०५ दशमलव ९५ प्रतिशतले बढेको हो ।
कुमारीको नाफा वृद्धि बैंकिङ क्षेत्रकै उल्लेखनीयमध्ये एक हो । यद्यपि प्रतिशतका आधारमा देखिएको असाधारण वृद्धिलाई अघिल्लो वर्षको कमजोर आधारसँग जोडेर हेर्नुपर्ने हुन्छ । कम आधारबाट भएको सुधारले प्रतिशतमा ठूलो छलाङ देखाउन सक्छ ।
ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२ दशमदज ६७ प्रतिशतले बढेको हो । एभरेस्ट बैंक ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ नाफासहित चौथो स्थानमा छ । एभरेस्टको नाफा वृद्धि भने ४ दशमलव ७५ प्रतिशतमा सीमित भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ र नेपाल बैंकले ४ अर्ब ५० करोड १ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० दशमलव ६८ प्रतिशत र नेपाल बैंकको ४६ दशमलव २० प्रतिशतले बढेको हो ।
प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ र एनएमबी बैंकले ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ नाफा गरेका छन् । सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
हिमालयनको नाफा १ हजार प्रतिशतभन्दा बढी
प्रतिशतका आधारमा नाफा वृद्धिमा हिमालयन बैंक सबैभन्दा अगाडि छ । अघिल्लो वर्ष १२ करोड ९७ लाख रुपैयाँमा सीमित बैंकको खुद नाफा गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यससँगै बैंकको नाफा वृद्धिदर १ हजार ४१ प्रतिशतभन्दा बढी देखिएको छ ।
त्यस्तै सिटिजन्स बैंकको नाफा ६३ दशमलव ०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
एनएमबी बैंकको नाफा ४० दशमलव ६० प्रतिशत, सानिमा बैंकको ३८ प्रतिशत र प्राइम कमर्सियल बैंकको २८ दशमलव ४८ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई बैंकको नाफा २२ दशमलव ६७ प्रतिशतले बढेको छ । नेपाल एसबिआई र माछापुच्छ्रे बैंकको नाफा क्रमशः १२ दशमलव ८८ र १२ दशमलव २४ प्रतिशतले बढेको छ ।

एनआईसी एसिया नोक्सानीबाट नाफामा
एनआईसी एसिया बैंकका लागि पनि गत आर्थिक वर्ष सुधारको वर्ष बनेको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ ।
नोक्सानीबाट नाफामा फर्किनु बैंकको वित्तीय अवस्थाका दृष्टिले महत्वपूर्ण परिवर्तन हो । तर अपरिष्कृत वित्तीय विवरणबाट मात्र नाफा वृद्धिको स्रोत कुन शीर्षकबाट कति आयो भन्ने अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । त्यसका लागि लेखापरीक्षित वित्तीय विवरण तथा विस्तृत वार्षिक प्रतिवेदन आवश्यक हुन्छ ।
चार बैंकको नाफा घट्यो
समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको अवस्था भने समान छैन । चार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६ दशमलव ५८ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको नाफा २९ दशमलव ५१ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा झरेको छ ।
लक्ष्मी सनराइज बैंकको नाफा २३ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ५ दशमलव ३८ प्रतिशतले घटेर २ अर्ब ८५ करोड २ लाख रुपैयाँमा आएको छ ।
सबैभन्दा कमजोर अवस्था प्रभु बैंकको देखिएको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक गत वर्ष २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ ।
बैंकमा पैसा थुप्रियो, ऋणको माग कमजोर
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ । निक्षेप बढिरहेको छ र कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा न्यून तहमा पुगेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर करिब ४ दशमलव ९ प्रतिशत आसपास रहेको तथा कतिपय बैंकले ६ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा योजना ल्याएको अवस्था पनि छ । तर सस्तो ब्याजदरका बाबजुद कर्जाको माग अपेक्षित रूपमा बढेको छैन ।
बजार मागको कमजोरी, लगानीबाट प्रतिफल प्राप्त हुने अनिश्चितता तथा नीतिगत र व्यावसायिक वातावरणका समस्याले निजी क्षेत्रको लगानी मनोबल कमजोर बनाएको अर्थविदहरु बताउँछन् ।  
कर्जाको माग कमजोर हुँदा बैंकहरूले अतिरिक्त रकम सरकारी ऋणपत्र, राष्ट्र बैंकका उपकरण तथा अन्य वित्तीय साधनमा परिचालन गरेर प्रतिफल लिन थालेका छन् ।
बैंकहरूको नाफामा सुधार आए पनि कर्जाको गुणस्तरलाई बेवास्ता गर्न मिल्ने अवस्था छैन । विगतमा आर्थिक गतिविधि सुस्त हुँदा ऋणीको नगद प्रवाह प्रभावित भएर खराब कर्जा बढेको थियो । त्यसका कारण बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि ठूलो रकम छुट्याउनुपरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्