नेभिगेशन
अर्थतन्त्र

खाना पकाउने ग्यास अनुगमनबारे होटल संघ गम्भीर

काठमाडौ । ५ तारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनको क्रममा खाना पकाउने ग्यासको विषयमा आएको समाचारप्रति होटल संघ नेपाल गम्भीर भएको छ । 
¥याडिसन होटलमा रहेको खाना पकाउने ग्यास होटलमा रहेको ग्राहक संख्या, बुकिङ संख्या र माग अनुरुप तयार गर्ने खानाको किसिम र परिमाण अनुसारको खाना पकाउन आवश्यक परिमाणमा ग्यास उपलब्ध रहेको हुँदा यस तर्फ कुनै अन्यथा नरहेको होटल संघले उल्लेख गरेको छ । 
होटलहरूमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने, दैनिक रूपमा स्वदेशी तथा विदेशी पाहुनाहरूलाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोज लगायत विभिन्न प्रकारका खाद्य सेवा उपलब्ध गराउनुपर्ने तथा होटल परिसरमा नियमित रूपमा सभा, सम्मेलन, गोष्ठी, उत्सव, भोजलगायत ठूला कार्यक्रमहरू आयोजना हुने भएकाले अन्य सामान्य व्यवसायको तुलनामा खाना पकाउने प्रयोजनका लागि ग्यासको खपत स्वाभाविक रूपमा बढी हुने  हुँदा होटलको नियमित सञ्चालन, पाहुनाको सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राखिनुलाई मात्र अस्वाभाविक वा कालोबजारीको आशयमा बुझिनु उचित नहुने संघले जनाएको छ  ।
राज्यको नीति नियमको पूर्ण पालना गरी व्यवसाय संचालन गरिरहेको अवस्थामा ग्यास लगायतका आधारभूत अत्यावश्यक पदार्थको नियमित आपूर्तिको प्रत्याभूति नभई अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्तरीय सेवा दिन नसकिने यथार्थ हुँदाहुँदै पनि अनुगमनको नाममा सरकारी एकतर्फी अव्यवहारिक निर्देशन हुँदा सेवा प्रवाह गर्न कठिनाई रहने संघले जनाएको छ  ।
पर्यटन क्षेत्रको निर्वाध संचालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको परिप्रेक्ष्यमा अन्य सरकारी निकायहरुले नियमसंगत रुपमा गर्ने अनुगमनमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जानकारी र समन्वय अनिवार्य रुपमा हुनुपर्नेमा जोड दिँदै होटल संघ नेपालले होटल तथा आतिथ्य उद्योगमा गरिने सरकारी अनुगमनमा संघले समेत आफ्नो विशेषज्ञ सेवा निर्वाध उपलब्ध गराउने जनाएको छ  ।
प्रचलित ऐन, कानून तथा सरकारी मापदण्डको पूर्ण पालना गर्दै संचालित होटल उद्योगको संवेदनशीलता, यसको अत्यावश्यक सेवाको प्रकृति तथा दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई समेत ध्यानमा राखी अनुगमन तथा नियमनका कार्यहरू समन्वयात्मक, मर्यादित र तथ्यपरक ढंगले अघि बढाइनु आवश्यक रहेको होटल संघ नेपालले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्