नेभिगेशन
अर्थतन्त्र

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोड

काठमाडौं  । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपाल टेलिकमको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो ।
कम्पनीको मुनाफामा उल्लेख्य सुधार देखिए पनि कुल सञ्चालन आय भने तुलनात्मक रूपमा सामान्य दरले मात्र बढेको छ । चालु आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । कुल आयमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ ।
नाफा वृद्धिदर आम्दानीभन्दा उच्च
नेपाल टेलिकमको वित्तीय विवरणमा आम्दानीको तुलनामा मुनाफाको वृद्धिदर निकै उच्च देखिएको छ । कम्पनीको ब्याज आम्दानी घटे पनि कर तथा अन्य वित्तीय प्रभावपछि मुनाफामा उल्लेख्य सुधार आएको हो ।
चालु आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको आम्दानी अर्थात् इबिट्डा २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो । इबिट्डामा १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी, करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करअघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो । यस आधारमा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि ४९ रुपैयाँ २५ पैसा कायम भएको छ ।
ब्याज आम्दानी भने घट्यो
नेपाल टेलिकमको कुल आय र मुनाफा बढेको भए पनि ब्याज आम्दानीमा भने गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा राखिएको रकमबाट प्राप्त हुने ब्याजदर क्रमिक रूपमा घट्दै जाँदा कम्पनीको ब्याज आम्दानी घटेको हो ।
कम्पनीका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ ।
ब्याज आम्दानी घटे पनि मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा सुधार भएकाले समग्र सञ्चालन आय र मुनाफा बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।
जिएसएम सेवाबाट आम्दानी बढ्यो
कम्पनीको सञ्चालन आय बढ्नुमा जिएसएमतर्फको राजस्व वृद्धिको मुख्य योगदान रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको प्रमुख आम्दानीको स्रोत मोबाइल तथा अन्य दूरसञ्चार सेवा भएकाले जिएसएम सेवाको राजस्व वृद्धिले कम्पनीको समग्र सञ्चालन आम्दानीमा सकारात्मक प्रभाव पारेको हो ।
तर सञ्चालन आयमा ३ दशमलव १२ प्रतिशत मात्र वृद्धि हुँदा खुद मुनाफा भने ४७ दशमलव ५८ प्रतिशतले बढ्नुले कम्पनीको खर्च, वित्तीय आम्दानी तथा अन्य शीर्षकमा भएको परिवर्तनले पनि नाफा वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
दुर्गम क्षेत्रमा सेवा विस्तारको चुनौती
नेपाल टेलिकमले आफूलाई राष्ट्रको सञ्चार सेवाप्रदायकका रूपमा प्रस्तुत गर्दै नाफामुखी क्षेत्रसँगै विकट तथा दुर्गम स्थानमा समेत दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गर्दा तुलनात्मक रूपमा बढी लागत लाग्ने र त्यसको प्रतिफल कम हुने अवस्था रहे पनि नागरिकलाई सञ्चार सेवाको पहुँच पु¥याउन कम्पनीले त्यस्ता क्षेत्रमा लगानी गरिरहेको छ ।
यसले नेपाल टेलिकमको व्यावसायिक मुनाफासँगै सार्वजनिक सेवा दायित्वसमेत रहेको देखाउँछ । शहरी तथा उच्च प्रतिफल दिने बजारबाट हुने आम्दानीको आधारमा कम्पनीले ग्रामीण र दुर्गम क्षेत्रमा समेत पूर्वाधार विस्तार तथा सेवा गुणस्तर सुधारको जिम्मेवारी वहन गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्