नेभिगेशन
साहित्य

साहित्य र कला क्षेत्रको संरक्षण तथा संवर्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 
    नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताए । उनले भने, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु ।”
    नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उनले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए । “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो,” उनले भने, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।”
    सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गरे ।
    कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए । उनले नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताए ।
    कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पु¥याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
    पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गरेका थिए । उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका थिए ।
गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
गुठीले शनिबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पु¥याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु ५०÷५० हजार प्रदान गरिएको छ ।
त्यसैगरी नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही रु ५०÷५० हजार प्रदान गरिएको छ ।
यस्तै नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकारलाई रु ५० हजार तथा नूर–गङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई रु ५० हजार प्रदान गरिएको छ ।
नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई रु ३० हजार तथा नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई रु ३० हजार प्रदान गरिएको गुठीले जनाएको छ ।
सोही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्रा डा सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो ।
पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्