नेभिगेशन
साहित्य

देवकोटामाथि महाकाव्य

महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ आज सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो । 
कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलले लेखेको महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महाकवि देवकोटाका सुपुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिए । 
भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताए । तथ्य बिनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उनको भनाइ थियो । 
 ‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्नुहुँदै प्रा डा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि देवकोटाका विषयमा परिवारकै एक सदस्यले लेखेको महाकाव्यबाट पाठकले नयाँ जानकारी पाउने बताए । विभिन्न छन्दमा लेखिएको महाकाव्य पठनीय रहेको उनीहरूको भनाइ थियो । 
कार्यक्रममा अनेसास नेपाल शाखाका अध्यक्ष राजेन्द्र केसी र आजीवन सदस्य डा घनश्याम खतिवडा लगायतले नेपाली साहित्यमा महाकवि देवकोटाले दिएको योगदानका बारेमा महाकाव्यमा चर्चा गरिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्