नेभिगेशन
मनोरञ्जन

तीज गीतको लहर शुरू

तीजको लहर गाउँघरदेखि सहरसम्म फैलिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा नयाँ तीज गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका तथा गीतकार पूजन काफ्लेले आफ्नै शब्द र स्वरमा तयार पारेको ‘तीजको लहर आउँदा बरिलै’ म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छन् ।
गीतमा तीजको सांस्कृतिक रौनक, माइतीको सम्झना, दिदीबहिनीको भेटघाट, दर खाने परम्परा, नाचगान र नेपाली महिलाको उत्साहलाई समेटिएको छ । तीजको मौलिक परिवेश र सामूहिक उल्लासलाई आधुनिक सांगीतिक प्रस्तुतिमार्फत नयाँ पुस्तासम्म पु¥याउने प्रयास गीतमा गरिएको छ ।
गीतमा जीआर बानियाँको संगीत, सन्तोष प्रगाढको संगीत संयोजन तथा सञ्जय श्रीपालको मिक्सिङ र मास्टरिङ रहेको छ । रेकर्डिङ मुर्चुङ्गा डिजिटलमा गरिएको हो ।
भिडियोमा बीना राउत मुख्य कलाकारका रूपमा देखिएकी छन् । उनको साथमा यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बरालले अभिनय तथा नृत्य गरेका छन् । शिवन पोखरेलको निर्देशन तथा नृत्य संयोजन रहेको भिडियोमा दिपेश एसकेले सहायक नृत्य संयोजन गरेका छन् । छायांकन दिपाल गिरी तथा सम्पादन र रङ संयोजन मिलन विश्वकर्माले गरेका छन् ।
गायनसँगै गीत लेखनमा सक्रिय पूजन काफ्लेले नवौँ राष्ट्रिय राजधानी अवार्डमा उत्कृष्ट आधुनिक महिला गायिका तथा ‘चुपचाप’ गीतका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट गायिकाको सम्मान पाइसकेकी छन् । यसपटक उनले तीजको मौलिक भावलाई आफ्नै सिर्जनाबाट प्रस्तुत गरेकी हुन् । गीतले यस वर्षको तीजमा श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्