नेभिगेशन
अर्थतन्त्र

उद्योगमैत्री शिक्षा र उद्यमीको सम्मानबाट युवाहरू स्वदेशमै बस्छन्: सांसद राणा

काठमाडौँ । उद्योगमैत्री शिक्षा र उद्यमीको सम्मानले मात्र युवाहरू नेपालमै रोकिने धारणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य विदुषी राणाले व्यक्त गरेकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो’ को समापनका अवसरमा बोल्दै सांसद राणाले युवा जनशक्तिलाई स्वदेशमै रोक्न र आर्थिक समृद्धि हासिल गर्न राज्यले लिनुपर्ने महत्वपूर्ण नीतिगत पाटाहरू समेट्दै विशेष धारणा राखेकी हुन्। उनले नेपालको शैक्षिक प्रणालीलाई उत्पादनमूलक उद्योगको आवश्यकतासँग जोड्नुपर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरूलाई राष्ट्र निर्माणका सच्चा साझेदारका रूपमा सम्मान गरिनुपर्नेमा जोड दिइन्।

सांसद राणाले देशको विद्यमान शिक्षा प्रणालीमा परिमार्जनको आवश्यकता औंल्याउँदै कक्षाकोठामा दिइने शिक्षा र सीप उत्पादनमूलक उद्योग तथा निजी क्षेत्रको वास्तविक मागसँग मेल खाने हुनुपर्ने कुरामा जोड दिइन्। बजारको आवश्यकता र शैक्षिक पाठ्यक्रमबीच तालमेल नहुँदा शैक्षिक बेरोजगारी बढेकाले बजार सुहाउँदो व्यावहारिक शिक्षा नीति निर्माण गरिनुपर्ने उनको भनाइ थियो। यसका साथै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी कक्षाकोठाको शिक्षासँगै व्यावहारिक अनुभव र रोजगारीका लागि आवश्यक सीप विकास गराउन अप्रेन्टिससिप तथा इन्टर्नसिपलाई प्रोत्साहन गर्नुपर्ने उनले बताइन् । यसले विद्यार्थीहरूलाई अध्ययनकै क्रममा कार्यस्थलको वास्तविक अनुभव दिलाउन र रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्।

युवा जनशक्तिलाई स्वदेशमै उद्यमी बनाउनका लागि नयाँ पुस्तालाई वित्तीय पहुँच सहज बनाउँदै उनीहरूका नवप्रवर्तनात्मक विचारहरूलाई वास्तविक व्यवसाय र उद्यममा रूपान्तरण गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने राणाले बताइन्। उनले व्यवसायलाई केवल व्यक्तिगत नाफा कमाउने माध्यमका रूपमा हेर्ने संकुचित सोच परिवर्तन गर्नुपर्ने धारणा राखिन्। नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको र देशमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले नै सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै उनले लगानी गर्ने, जोखिम लिने, रोजगारी दिने र राज्यलाई कर तिर्ने उद्यमीहरू केवल व्यवसायी मात्र नभएर राष्ट्र निर्माणका प्रमुख साझेदार भएको जिकिर गरिन्। त्यसैले यस्ता उद्यमीहरूले राज्यबाट उचित सम्मान, पहिचान र सहज व्यावसायिक वातावरण पाउनैपर्ने उनको दाबी थियो।

उद्यमी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी सांसद राणाले यदि हामी हाम्रा युवाले आफ्नो भविष्य नेपालमै देखून् र बनाऊन् भन्ने चाहन्छौँ भने स्वदेशमै पर्याप्त अवसरहरू सिर्जना गर्नुपर्ने स्पष्ट पारिन्। उद्यमको सम्मान गर्ने र रोजगारी सिर्जना गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति नल्याएसम्म युवा पलायन रोक्न सम्भव नहुने उनको भनाइ थियो। उक्त समापन कार्यक्रममा अटोमोबाइल क्षेत्रका उद्यमीहरू, नीति निर्माता र आर्थिक क्षेत्रका विज्ञहरूले पनि नेपालमा दिगो व्यवसाय, जनशक्ति व्यवस्थापन र उद्योगमैत्री वातावरण निर्माणका चुनौती र सम्भावनाबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्