काठमाडौं । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ आगामी ९ भदौ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ ।
नाडाको ५०औं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शोको १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बिमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहने आयोजकले जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ । नाडाको ५०औँ वार्षिकोत्सवका अवसरमा यस वर्षको अटो शोको १८औँ संस्करणलाई ‘स्वर्ण जयन्ती संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र गतिमा परिवर्तन भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक अवस्थालाई एउटै मञ्चमा प्रस्तुत गर्ने आयोजकको दाबी छ । प्रदर्शनीमा विभिन्न कम्पनीले आफ्ना नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् भने उपभोक्ता तथा व्यावसायिक सरोकारवालाले प्रत्यक्ष रूपमा नयाँ प्रविधि र उत्पादनबारे जानकारी लिन सक्नेछन् ।
करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । तीमध्ये २३ ब्रान्डका प्यासेन्जर कार तथा भेहिकल, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहनेछन् ।
यस पटकको अटो शोको अर्को महत्वपूर्ण पक्ष ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पभिलियन रहनेछ। उक्त पभिलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिइनेछ । नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटो कम्पोनेन्ट प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्र आयातमा मात्र निर्भर नरही विस्तारै स्वदेशी उत्पादन र एसेम्बलीतर्फ अघि बढिरहेको सन्देश यस पटकको अटो शोमार्फत दिन खोजिएको बताएका छन् । उनका अनुसार नेपालमै उत्पादन तथा एसेम्बल भएका विभिन्न सवारीसाधन, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पाट्र्स र हेल्मेट प्रदर्शनीमा सहभागी हुनेछन् ।
यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन, स्मार्ट मोबिलिटी, दिगो यातायात र नयाँ प्रविधिलाई विशेष प्राथमिकता दिइनेछ । आयोजकका अनुसार विश्वस्तरमा तीव्र रूपमा विकास भइरहेको मोबिलिटी प्रविधिको प्रभाव नेपालमा समेत बढिरहेका बेला त्यसलाई एउटै थलोमा प्रस्तुत गर्ने प्रयास गरिएको हो ।
भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिबारे आगन्तुकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले यी प्रविधि प्रदर्शन गर्न लागिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गर्ने प्रडक्ट लन्च, स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीमा केन्द्रित सिम्पोजियम पनि आयोजना गरिनेछ । यसले अटोमोबाइल व्यवसायी मात्र नभई प्रविधि तथा मोबिलिटी क्षेत्रमा चासो राख्ने सरोकारवालालाई समेत नयाँ बहसको अवसर दिने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटोमोबाइल कम्पोनेन्ट र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै प्रदर्शनी क्षेत्र बनाइनेछ । आगन्तुकको सहजताका लागि विभिन्न जोनमा विभाजन गरी प्रदर्शनी व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
यसपटक टिकटको अग्रिम बुकिङ खल्ती एपमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । निश्चित अवधिका लागि अग्रिम टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नाडाका अनुसार यस वर्षको अटो शोमा करिब दुई लाख आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। ठूलो संख्यामा उपभोक्ता तथा व्यवसायीलाई एकै स्थानमा आकर्षित गर्ने भएकाले प्रदर्शनीले सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउनसमेत योगदान गर्ने अपेक्षा गरिएको छ।
नाडा अध्यक्ष उप्रेतीले पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको, नयाँ प्रविधि भित्रिइरहेको र मोबिलिटीको अवधारणा परिवर्तन भइरहेको अवस्थामा यस वर्षको अटो शो विगतका संस्करणभन्दा फरक हुने दाबी गरेका छन्।
उनका अनुसार अटो शो केवल सवारीसाधन बिक्री तथा प्रदर्शन गर्ने थलो नभई नेपालको अटोमोबाइल उद्योग कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने देखाउने मञ्च पनि हो। विशेषगरी स्वदेशी उत्पादन, एसेम्बली उद्योग, विद्युतीय सवारीसाधन र स्मार्ट मोबिलिटीलाई एउटै मञ्चमा प्रस्तुत गरेर भविष्यको अटोमोबाइल बजारबारे जानकारी दिन खोजिएको छ ।
अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ भने शिखर इन्स्योरेन्स सह–प्रायोजक तथा बीमा साझेदारका रूपमा रहेको छ। क्याम्पा पेय पदार्थ साझेदार, जीआई चार्जर चार्जिङ साझेदार, द प्लाजा हस्पिटालिटी साझेदार र खल्ती बाइ आईएमई टिकटिङ साझेदारका रूपमा सहभागी छन् । याङ्गो मोबिलिटी साझेदार तथा वल्र्डलिंक कनेक्टिभिटी साझेदार रहेको छ ।