नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवम् व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपालमा युवा जनशक्तिको अभाव नभए पनि युवाको प्रतिभालाई सीप, उत्पादकत्व, उद्यमशीलता र अर्थपूर्ण रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताए । बदलिँदो विश्व श्रम बजारअनुसार युवाले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उल्लेख गर्दै उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण र उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी तथा व्यवसायको परम्परागत स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको बताए ।
अग्रवालका अनुसार अब नेपालमै बसेर विदेशका कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको छ । सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, जलविद्युत् तथा हरित ऊर्जा, उत्पादन तथा निर्यातमुखी उद्योग, आधुनिक कृषि तथा कृषिजन्य व्यवसायमा युवाका लागि ठूलो सम्भावना रहेको उनले बताए ।
बैंकिङ, वित्तीय तथा बीमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै अग्रवालले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र अनुकूल वातावरणलाई उपयोग गर्दै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने बताए ।
निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, चरित्र र जिम्मेवारीबोध भएका जनशक्ति खोजिरहेको उनले बताए । डिग्री मात्र व्यावसायिक सफलताको आधार नभएको उल्लेख गर्दै अग्रवालले उच्च अंक वा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थी मात्र व्यावहारिक जीवनमा सफल हुने निश्चित नभएको बताए । वास्तविक कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञानलाई निजी क्षेत्रले बढी महत्व दिने उनको भनाइ थियो ।
निजी क्षेत्रले स्पष्ट रूपमा सञ्चार गर्न सक्ने, समस्या पहिचान गरी समाधान निकाल्न सक्ने, समूहमा काम गर्न सक्ने, परिवर्तनअनुसार आफूलाई ढाल्न सक्ने र जिम्मेवारी लिन सक्ने युवालाई प्राथमिकता दिने उनले बताए । व्यवसाय विश्वासमा निर्माण हुने भएकाले प्रतिभासँगै इमानदारी र चरित्र पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
आज सिकेको ज्ञान भोलि नै पुरानो हुन सक्ने भएकाले युवाले जीवनभर सिक्ने संस्कार विकास गर्नुपर्ने अग्रवालले बताए । सिक्ने इच्छा, मेहनत गर्ने बानी, सुझाव स्वीकार गर्ने क्षमता र आफूलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता भएका युवाको करियर दीर्घकालीन रूपमा अघि बढ्ने उनले उल्लेख गरे ।
कृत्रिम बुद्धिमत्ताले रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन ल्याउने भए पनि त्यसलाई केवल रोजगारी खोस्ने प्रविधिका रूपमा हेर्न नहुने उनले बताए । ‘एआईले मेरो रोजगारी खोस्छ कि खोस्दैन भन्नेभन्दा अरूभन्दा राम्रोसँग एआई प्रयोग गर्न सक्ने व्यक्ति कसरी बन्ने भन्ने प्रश्न गर्नुपर्छ,’ उनले भने । विद्यार्थीले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्न सिक्नुपर्ने उनले बताए । प्रविधिले नैतिकता, सहानुभूति, विवेक, नेतृत्व, साहस र जिम्मेवारीजस्ता मानवीय गुणलाई भने प्रतिस्थापन गर्न नसक्ने उनको भनाइ थियो ।
नेपालमा युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको अग्रवालले बताए । विश्वविद्यालय तथा तालिम संस्थाले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्नुपर्ने भन्दै उनले व्यावहारिक शिक्षा, इन्टर्नसिप, उद्यमशीलता, व्यावसायिक सीप, डिजिटल दक्षता तथा उद्योग–शैक्षिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।
निजी क्षेत्रले पनि युवा प्रतिभा विकासमा थप जिम्मेवारी लिनुपर्ने र सरकारले व्यवसायमा लगानी गर्न, नवप्रवर्तन गर्न तथा विस्तार गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए । लगानीको संरक्षण, उद्यमशीलताको प्रोत्साहन, नवप्रवर्तनको सम्मान र योग्यताको कदर हुने वातावरण निर्माण भएमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बलियो हुने उनको भनाइ थियो ।
नेपालसँग युवा जनशक्ति, प्राकृतिक स्रोत, उद्यमशील ऊर्जा र विश्वका दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक भौगोलिक अवस्थिति रहेको उल्लेख गर्दै अग्रवालले यी सम्भावनालाई उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सले लगानी, उद्यमशीलता, नवप्रवर्तन, सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने नीतिका लागि निरन्तर पैरवी गर्दै आएको उनले जानकारी दिए ।
विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, सीप विकास गर्न, प्रविधिलाई आत्मसात् गर्न र आफ्नो इमानदारी कायम राख्न आग्रह गर्दै अग्रवालले केवल रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । नेपालमै बसेर व्यवसाय निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न युवाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्