नेभिगेशन
अर्थतन्त्र

अदालतको अन्तरिम आदेशविपरित सडक विभागले भत्कायो टेलिकमको भवन

काठमाडौं । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको वीरगञ्जस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको छ । 
यस अघि नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतका कार्यालयसमेतलाई विपक्षी बनाई गत साउन २८ मा रिट निवेदन दायर गरेकोमा वीरगञ्जको मुख्य सडक विस्तार सम्बन्धी कार्य तत्काल नगर्न÷नगराउन उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले साउन २९ मा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 
अदालतमा दायर गरिएको मुद्दामा विपक्षीहरूलाई माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्ने विषयमा लिखित जवाफ पेश गर्न आदेश दिइएको र म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेश गर्न विपक्षीलाई भनिएको थियो । 
अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशपछि पनि सडक डिभिजन कार्यालय हेटौंडाद्वारा दूरसञ्चार कार्यालय वीरगञ्जको कार्यालय भवनलाई नापी विभागबाट तय भएको नक्शांकन भन्दा फरक हुने गरी गत साउन ३० र ३१ मा दुईवटा स्काभेटर प्रयोग गरेर भत्काइएको हो । 
अदालतले भदौ ४ मा अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि पेसी पनि तोकि सकिएको र आदेशको जानकारी विपक्षीहरूलाई यथाशीघ्र गराउनसमेत निर्देशन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्