नेभिगेशन
मनोरञ्जन

‘ऊनको स्वीटर’ अब ‘कलेजी’ हुने

२०८२ सालको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’मा ११ विधामा पुरस्कृत भएसँगै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्मको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ । आउँदो वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ । 
नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस फिल्ममा विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) नै दोहोरिने भएका छन् । उनीहरूसहित एलेक्स पारस (विश्वकर्मा) र परीक्षा लिम्बूको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको पनि फिल्ममा अभिनय रहने बताइएको छ ।
फिल्मको घोषणा गर्दै निर्देशक चौहानले भने, ‘यो पटक हामीले ‘ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढंगले उजागर गर्ने कोसिस गरेका छौँ । धेरै दर्शकले फिल्म आधा अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौं भनेर हामीलाई एकदमै आग्रह गर्नुभएको थियो । धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि ग¥यौँ । तर, अब भने ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौं ।’
‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई अगाडि सारेर फिल्म बनाउन लागेको पनि निर्देशक चौहानले जानकारी दिए । यसको अर्थ धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुनेछ । फिल्ममा चिन्तनराज भण्डारीको छायांकन, कृष्ण भण्डारीको सम्पादन, सुजन चापागाईंको संगीत तथा हर्क साउद र युवराज काफ्लेको शब्द रहनेछ । अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा करिब १२ करोडको व्यापार गरेको थियो । यो २०८२ सालको पहिलो सुपरहिट फिल्म हो । भारतीय सिनेमा हलमा समेत फिल्मले डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाउँदै ५१ दिन मनाएको थियो । यो फिल्ममा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानी’ गीत दर्शकमाझ निकै लोकप्रिय रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्