नेभिगेशन
अर्थतन्त्र

‘ओलीज स्टोर’सहित १२ फर्मलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागल नेपालमा एप्पललगायत अन्य प्रिमियम ब्रान्डका ग्याजेट बिक्री गर्दै आएको स्टोर ‘ओलीज स्टोर’लाई कारबाही गरेको छ । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएपछि विभागले स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
विभागले ओलीज स्टोरको महाराजगञ्जस्थित शाखालाई कारबाही गरेको हो ।
सरकारले बजारमा हुने अनियमितता र उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमन कार्यलाई तीव्र बनाएको जनाएको छ । विभागले मंगलबार मात्र बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने विभिन्न १२ वटा व्यावसायिक फर्महरूमाथि कारबाही तथा आवश्यक निर्देशन जारी गरेको छ ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित ‘न्यू फेमिली गल्र्स होस्टेल’लाई सबैभन्दा बढी तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त होस्टेलले विद्यार्थीलाई भर्ना गर्दा अनिवार्य प्यान बिल जारी नगरेको र विद्यार्थीहरूलाई अस्वस्थकर खाना खुवाउने गरेको पाइएपछि कार्बाही गरेको हो । 
तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन अनुगमनका क्रममा केही फर्महरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । ललितपुरको पुल्चोकस्थित ‘खाना डट कम’लाई व्यवसाय दर्ता, नवीकरण, बैंक स्टेटमेन्ट र खरिद–बिक्रीका कागजातहरू लिएर आउन भनिएको छ । यस्तै, कीर्तिपुरको ‘क्षितिज मेडिकल स्टोर’लाई बिक्री गरेका औषधिको मूल्य प्रमाणित गर्ने नमूना र कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । बुढानीलकण्ठको ‘विश्राम रेस्टुरेन्ट एन्ड बार’लाई पनि दर्ता, खरिद बिल र ग्यास डिलरको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
अन्य फर्महरूलाई दिइएको निर्देशन विभागले भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका फर्महरूलाई पनि सुधारका लागि निर्देशन दिएको छ । विभागका अनुसार दधिकोटस्थित गढिमाई तेल मिललाई लेबल नभएका सामान बिक्री नगर्न र मूल्यसूची व्यवस्थित गर्न निर्देशन दिइएको छ । त्यसैगरी न्यू रिक्खा स्विट्स गठ्ठाघरलाई  खाद्य स्वच्छता र गुणस्तर मापदण्ड पालना गर्न तथा अनिवार्य बिल जारी गर्न भनिएको छ ।
गायत्री स्पाइसेस एण्ड फुड प्रोडक्ट्स गाम्चालाई गुणस्तरयुक्त मालवस्तु मात्र कारोबार गर्न निर्देशन दिइएको छ । यस्तै सांगीज अपारेल स्टुडियो ललितपुरलाई भने खरिद–बिक्री बिल र एमआरपी लेबल व्यवस्थित गर्न भनिएको छ ।
यसैगरी वाटिका ट्रेडर्स अनिवार्य रूपमा बिल बिजक जारी गर्न निर्देशन दिइएको छ । ग्यास आपूर्तिका सन्दर्भमा ‘बट्टु सप्लायर्स’ लोकन्थलीलाई सहज आपूर्ति गर्न निर्देशन दिइएको छ भने ‘सीता ग्यास स्टोर’ (चक्रपथ) ले सहज रूपमा ग्यास वितरण गरिरहेको पाइएकाले विभागले धन्यवाद दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्