नेभिगेशन
अर्थतन्त्र

रेडमी १७ सिरिजमा ७ हजार ५०० एमएएचको ब्याट्री

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ फाइभजी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको बताइएको छ ।
रेडमी १७ सिरिजको मुख्य विशेषता ७ हजार ५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो । यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय कम गर्छ ।
यस सिरिजमा २२ दशमलव ५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ फाइभजीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
दुवै स्मार्टफोनमा ६ दशमलव ९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । यसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ फाइभजीमा छिटो ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ ।
क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । डुअल–भ्यु भिडियो रेकर्डिङ सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ । अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ ।
करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ । यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ । 
१२८ जीबीको रेडमी १७ को ४ जीबी ¥यामयुक्त मोबाइलको मुल्य २८ हजार र ६ जीबी ¥याम भएको मोबाइलको मुलइ ३४ हजार रुपैयाँ निर्धारण गरिएको छ । 
त्यसैगरी २५६ जीबीको रेडमी १७ फाइभजी ४ जीबीको ३८ हजार र ६ जीबी ¥याम भएकोको मुल्य ४२ हजार रुपैयाँ निर्धारण गरिएको छ । १२८ जीबीयुक्त रेडमी १७ फाइभजीको भने ३४ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्