नेभिगेशन
अर्थतन्त्र

क्यान महासंघ सुदूरपश्चिम प्रदेशले सुरु ग-यो विद्यार्थीलाई एआई तालिम

काठमाडौं । क्यान महासंघ सुदूरपश्चिम प्रदेशले ‘एआई फर नेपाल २०२६’ कार्यक्रम सुरु गरेको छ । ११ र १२ कक्षा अध्ययनरत विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको हो ।
महर्षि कलेजको सहकार्यमा सञ्चालित कार्यक्रमले माध्यमिक तहको शिक्षाबाट आधुनिक प्रविधिमा आधारित अर्थतन्त्रतर्फ प्रवेश गर्न खोजिरहेका विद्यार्थीलाई एआईको आधारभूत ज्ञानदेखि व्यावहारिक प्रयोगसम्मको जानकारी दिने आयोजकले जनाएको छ ।
विश्वभर एआईको प्रयोग शिक्षा, स्वास्थ्य, वित्त, इन्जिनियरिङ, व्यापार तथा सिर्जनात्मक क्षेत्रसम्म तीव्र रूपमा विस्तार भइरहेका बेला नेपाली युवालाई पनि एआई प्रविधिसँग परिचित गराउन अभियान सुरु गरिएको क्यान महासंघ सुदूरपश्चिम प्रदेशले जनाएको छ ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्राइभेट लिमिटेडका संस्थापक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको पहलमा सुरु भएको अभियानलाई क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धीरेन बोगटीले अघि बढाएका हुन् । अभियानमार्फत सुदूरपश्चिम प्रदेशसहित नेपालभर एआईसम्बन्धी अनुसन्धान, विकास र शिक्षालाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले बदलिँदो प्रविधिको युगमा एआईसम्बन्धी ज्ञान युवाका लागि महत्वपूर्ण सीप बन्दै गएको भन्दै विद्यार्थी तहबाटै यसको प्रयोग र सम्भावनाबारे जानकारी दिन आवश्यक रहेको बताए ।
त्यस्तै, पीसीपीएसकी चिफ ग्रोथ अफिसर कृपा श्रेष्ठले विद्यार्थीलाई एआईको व्यवस्थित र व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको क्षमता विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन।
एक दिने गहन तालिमका रूपमा सञ्चालन हुने ‘एआई फर नेपाल २०२६’ मा विद्यार्थीलाई एआईको विकास र प्रयोग, जेनेरेटिभ एआई, विभिन्न एआई उपकरणको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, वास्तविक जीवनका समस्या समाधान तथा एआईको सुरक्षित र नैतिक प्रयोगबारे प्रशिक्षण दिइनेछ ।
तालिममा सहभागी विद्यार्थीले आधुनिक एआई तथा डेटा विज्ञान प्रणालीका आधारभूत अवधारणा, शैक्षिक तथा व्यावहारिक काममा एआईको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, विभिन्न एआई उपकरणको प्रयोग र एआईबाट प्राप्त परिणामको आलोचनात्मक मूल्याङ्कन गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ । 
यसका साथै विद्यार्थीलाई एआईको नैतिक तथा सुरक्षित प्रयोग, उत्पादकत्व र सिर्जनात्मकता बढाउन प्रविधिको उपयोग तथा एआईसँग सम्बन्धित सम्भावित करियरका विषयमा समेत जानकारी दिइनेछ ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधिका निष्क्रिय प्रयोगकर्ताबाट डिजिटल सिर्जनाकर्ता, समस्या समाधानकर्ता तथा नवप्रवर्तकका रूपमा विकास गर्नु हो । एआईलाई भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण सीपका रूपमा विकास गर्दै विद्यार्थी तहबाटै यसको व्यावहारिक प्रयोग विस्तार गर्ने अभियानको लक्ष्य रहेको छ ।
कार्यक्रममा क्यान महासंघ सुदूरपश्चिम प्रदेशले प्रविधि क्षेत्रको निजी क्षेत्रसँगको सहकार्य र आफ्नो राष्ट्रव्यापी सञ्जालमार्फत एआईसम्बन्धी ज्ञान तथा अवसर विद्यार्थीमाझ पु¥याउने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्