नेभिगेशन
अर्थतन्त्र

ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट सार्वजनिक

काठमाडौं । गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट घोषणा गरिएको छ । ग्लोकल प्रालिले मंगलबार सार्वजनिक गरेको सूचीमा सातै प्रदेशबाट आएका ७ सय ९१ आवेदनमध्ये विभिन्न क्षेत्रमा प्रभावकारी काम गरिरहेका ६ किशोरकिशोरी छनोट भएका हुन्।
यस वर्ष सबैभन्दा धेरै आवेदन बागमती प्रदेशबाट २६.२७ प्रतिशत परेको थियो । कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेश प्रदेशबाट १९.४९ प्रतिशत आवेदन परेको आयोजकले जनाएको छ । कुल आवेदकमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला थिए।
युवा नेतृत्व तथा सशक्तीकरण, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु कार्य, सामुदायिक विकास, प्रविधि तथा नवप्रवर्तन, लैंगिक समानता, स्वास्थ्य र नागरिक सहभागितालगायत क्षेत्रमा योगदान गरेका किशोरकिशोरीले आवेदन दिएका थिए ।
शीर्ष ६ मा विराटनगरका १५ वर्षीय अर्जुन चौधरी, अछामका १९ वर्षीय अटल देव ढकाल, पोखराकी १८ वर्षीया जास्मिन बोहोरा, सुर्खेतका १७ वर्षीय किशोर न्यौपाने, बर्दिबासका १७ वर्षीय मन्जिल बस्नेत र नवलपुरकी १९ वर्षीया सब्नम सुनार परेका छन्।

चौधरी साइबर सुरक्षा अनुसन्धानकर्ता तथा प्रविधि उद्यमी हुन्। उनले ४०० भन्दा बढी सक्रिय सदस्य रहेको आर्णिको ह्याक क्लब स्थापना गरेका छन्। ढकाल जलवायु न्याय तथा हिमाली समुदायका मुद्दामा सक्रिय छन्। उनी थ्इग्ल्न्इ अन्तर्गत माउन्टेन्स एन्ड ग्लेसियर्स वर्किङ ग्रुपको नेतृत्वमा छन्।
बोहोरा कृत्रिम बुद्धिमत्ता, वातावरणीय नवप्रवर्तन र अन्तरिक्ष शिक्षामा सक्रिय क्त्भ्ः नवप्रवर्तक हुन्। उनले ४०० भन्दा बढी विद्यार्थीलाई स्टेम तथा अन्तरिक्ष प्रविधिसँग जोडिसकेकी छन्। उनी अहिले एआईमा आधारित वन डढेलो पत्ता लगाउने एप्लिकेसन विकासमा सक्रिय छिन्।
कर्णालीका न्यौपाने जलवायु अभियन्ता हुन्। उनको अभियान २० हजारभन्दा बढी विद्यार्थीसम्म पुगेको र ३ हजार २३० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जनाएको छ। उनले कर्णालीमा ट्र्यास कलेक्सन रेससमेत आयोजना गरेका छन्।
बस्नेतले युवालाई स्थानीय सरकारसँग जोड्दै नागरिक सहभागिता बढाउने उद्देश्यले ‘युथ सिभिक लन्चप्याड’ स्थापना गरेका छन्। उनको पहलले स्थानीय तहका निर्णय प्रक्रियामा युवाको सहभागिता बढाउन सहयोग गरेको आयोजकको भनाइ छ।
सुनार बालिका नेतृत्व, लैंगिक समानता, मासिकधर्म स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा सक्रिय छिन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाको प्रतिनिधित्व गरिसकेकी छन्।
आयोजकका अनुसार २० उत्कृष्ट किशोरकिशोरीमध्ये कागजात परीक्षण, पहल, उपलब्धि, प्रभाव, सिर्जनशीलता र कामको दिगोपनाका आधारमा शीर्ष ६ छनोट गरिएको हो। तीन सदस्यीय निर्णायक समितिमा कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी, केएफसी तथा पिज्जा हटकी कन्ट्री म्यानेजर विजय शर्मा र एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री सुजियान थिए।
शीर्ष ६ फाइनलिस्टले २७ देखि ३१ अगस्टसम्म सेल्फ–कम्पिटेन्सी वर्कशपमा सहभागी हुनेछन्। उनीहरूले विभिन्न कर्पोरेट हाउस तथा साझेदार संस्थाको भ्रमण गरी उद्योग विज्ञसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्