नेभिगेशन
अर्थतन्त्र

रेडक्रसको जग्गा खरिदमा अनियमितताः पाँच जना पक्राउ

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा बोलपत्रमा तोकिएको सर्तविपरीत बिचौलियामार्फत कारोबार गरी संस्थालाई आर्थिक नोक्सानी पु¥याएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनको अध्ययनपछि अनुसन्धान अघि बढाइएको हो । छानबिनका क्रममा भक्तपुरमा रेडक्रसको गोदाम घर सञ्चालनका लागि जग्गा खरिद गर्दा अनियमितता भएको देखिएपछि संलग्न पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार नेपाल रेडक्रस सोसाइटीका लागि भक्तपुर नगरपालिका–४ अन्तर्गत विभिन्न कित्ता नम्बरमा रहेको कुल ५ रोपनी १३ आना ३ दाम क्षेत्रफलको जग्गा खरिद गरिएको थियो । उक्त जग्गा खरिदबापत रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ ।
तर बोलपत्रमा उल्लेख गरिएको सर्तविपरीत प्रत्यक्ष रूपमा जग्गा खरिद नगरी मध्यस्थकर्ता अर्थात् बिचौलियामार्फत कारोबार गरिएको आरोप छ । अनुसन्धानका क्रममा भुक्तानी गरिएको रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ताले लिएर हिनामिना गरेको देखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफलसमेत बोलपत्र तथा खरिद प्रक्रियामा उल्लेख गरिएकोभन्दा कम रहेको पाइएको छ । नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख भएको ५ रोपनी १३ आना ३ पेसा क्षेत्रफलको सट्टा फिल्डमा ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको खुलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
यसबाट रेडक्रस सोसाइटीले ठूलो रकम भुक्तानी गरे पनि सम्झौताअनुसारको जग्गा प्राप्त नगरेको र संस्थालाई आर्थिक नोक्सानी पुगेको प्रहरीको निष्कर्ष छ ।
पक्राउ पर्नेमा मध्यपुरथिमि नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु रहेका छन् ।
त्यस्तै, उदयपुरको कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुरथिमि–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी पनि पक्राउ परेका छन् । थापा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । 

प्रहरीले उनीहरूलाई जग्गा खरिद प्रक्रियामा संलग्न पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्ताका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ । 
रेडक्रसजस्तो मानवीय सेवामा केन्द्रित संस्थाको सम्पत्ति खरिदमा नै आर्थिक अनियमितता भएको विषयमा सरकारी निकायबाट छानबिन अघि बढेपछि संस्थाको आर्थिक पारदर्शिता र प्रशासनिक जवाफदेहितामाथि समेत प्रश्न उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्