नेभिगेशन
मनोरञ्जन

९९औं ओस्कार अवार्डका लागि खुल्यो आवेदन

‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६’ ले ९९औं एकेडेमी अवाड्र्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्रको छनोट प्रक्रिया सुरु गरेको छ ।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पुगेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ । ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताले काठमाडौंस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र आफ्ना चलचित्र दर्ता गराउन आह्वान गरिएको छ ।
ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ भने विसं २०८२ असोज १५ देखि विसं २०८३ असोज १४ भित्रसिनेमा घरमा प्रदर्शन गरेको हुनुपर्नेछ । यसका साथै, चलचित्र व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान राखिएको समितिका अध्यक्ष शर्माले बताए ।
अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइनेछ । प्रदर्शनको सर्त पूरा नभएको खण्डमा भने चलचित्रले ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । उनका अनुसार टेलिभिजन, ‘भिओडी’, ‘डिभिडी’, ‘इन्टरनेट स्ट्रिमिङ’ वा ‘एयरलाइन इन्टरटेनमेन्ट’ जस्ता माध्यमबाट पहिलो पटक प्रदर्शन भएका चलचित्र भने छनोटका लागि अयोग्य मानिनेछन् ।
सहभागिताका लागि चलचित्रको निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने र चलचित्रमा नेपाली परिवेश तथा तत्वहरू झल्किएको हुनुपर्ने सर्त राखिएका छन् । त्यसैगरी, चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ भने स्पष्ट बुझिने अंग्रेजी ‘सबटाइटल’ अनिवार्य रूपमा राखिएको हुनुपर्ने सूचनामा जनाइएको छ ।
छनोटमा परेको खण्डमा चलचित्रले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ । इच्छुक निर्माताले आवेदन दिई आवश्यक सामग्रीसहित काठमाडौंस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन् । यससम्बन्धी थप नियम र प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेवसाइटबाट हेर्न सकिनेछ । आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्