नेभिगेशन
प्रवास

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं । नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।
उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘अनुसन्धान तथा विकास (आर एण्ड डी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो ।
डा. अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत छन् । उन को टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो । 

यस पुरस्कारलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ । विश्वका विभिन्न अनुसन्धान संस्था, विश्वविद्यालय तथा उद्योगबाट विकास भएका हजारौं प्रविधिमध्ये प्रभावशाली १०० प्रविधिलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गरिन्छ । 

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको छ । यस अनुसन्धानले परम्परागत उत्पादन प्रक्रियालाई सरल बनाउन सक्ने भएकाले यस प्रविधिले ब्याट्री निर्माणमा समय र ऊर्जा बचत गर्नुका साथै उत्पादन लागत घटाउनेछ । 

बेलायतको सुरी विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरी अमेरिकाको वेक फरेष्ट विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका उनले एक दशकभन्दा लामो अनुसन्धान अनुभवमा ऊर्जा, ब्याट्री, इलेक्ट्रोक्याटालाइसिस, उन्नत सामग्री तथा नयाँ उत्पादन प्रविधिका विभिन्न क्षेत्रमा अनुसन्धान गरेका छन् । 

सन् २०२६ का ‘अनुसन्धान तथा विकास–१०० एवार्ड’ विजेताहरूलाई औपचारिक रूपमा आगामी नोभेम्बरमा अमेरिकाको एरिजोनामा आयोजना हुने विशेष समारोहमा सम्मान प्रदान गरिनेछ । विश्वभरका वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रविधि विकासकर्ता तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त समारोहमा यस वर्षका उत्कृष्ट १०० प्रविधिको सफलता मनाइने बताइएको छ ।

नेपालमा अध्ययन गरेर अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा प्रवेश गर्न सकिन्छ भन्ने उदाहरण आफ्नो यात्राले दिएको बताउँदै उनी भन्छन्, ‘नेपालका विद्यार्थीमा प्रतिभाको कमी छैन । अवसर, मिहिनेत र निरन्तर सिकाइ आवश्यक हुन्छ । आफूले रोजेको क्षेत्रमा इमानदारीपूर्वक काम गर्दै जाने हो भने नेपालबाट पनि विश्वस्तरीय अनुसन्धान गर्न सकिन्छ ।’ विज्ञान तथा प्रविधिलाई नेपालमा पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी युवापुस्तालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा आकर्षित गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्