नेभिगेशन
अर्थतन्त्र

नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभइ उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित भएको छ । आगामी मंगलवारदेखि आइतवारसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।
तर यसपटक नाडाले अटो शोमा रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ । नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार ५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्नेछ ।
मल्लका अनुसार अटोमोबाइल क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा छ । पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको छ ।
‘अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन । यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो । त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो,’ मल्ल भन्छन् ।
यही सोचअनुसार यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदैछ ।
मल्लका अनुसार प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो ।
यस वर्षको अटो शोको अर्को महत्त्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो । अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ ।
नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पाट्र्सलाई पनि यहाँ राखिनेछ ।
‘नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ । स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ । त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो,’ उनी भन्छन् ।
अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ । प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग यो क्षेत्र जोडिएको नाडाको दाबी छ ।
मल्लको भनाइमा यही तथ्यले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात–बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने देखाउँछ ।
‘अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ,’ उनी भन्छन् ।
यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ । विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ ।
मल्लका अनुसार ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढेको छ ।
‘ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन । त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस र नीतिगत स्थिरता पनि चाहिन्छ । अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ,’ उनी भन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्