नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लि. ले ४४० मेगावाट क्षमताको कालिकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।  
कालीकोट जिल्लाको तिला खोलामा एससी पावर कम्पनीद्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी ४४ अर्ब ५५ करोड रहनेछ ।
 वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक तथा प्रभु बैंक सह–अगुवा बैंक रहनुका साथै अन्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु सहभागीको रुपमा रहने छन्  ।  
एससी पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । तिला १ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अनुसार कुल क्षमता ४ सय ४० मेगावाट रहेको छ र पीपीए अनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८७ पुस १५ रहेको छ  । 
एनएमबि बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत आयोजना जडान क्षमताका हिसाबले अहिलेसमको ठुलो आयोजना हो  । 
आयोजना निर्माण पश्चात् पहिलो वर्ष करिब ११ अर्ब ४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ  ।  एनएमबि बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्