नेभिगेशन
मनोरञ्जन

झूर फिल्म हेर्नेहरूको भिड बढ्यो

फिल्म राम्रो भएर होइन, यति खराब भएर चर्चामा आयो कि अहिले यही फिल्म बक्स अफिसमा हिट बन्न थालेको छ ।

चीनमा प्रदर्शनमा आएको कम बजेटको एनिमेसन फिल्म ‘निउ लाई’ अहिले सामाजिक सञ्जालमा भाइरल बनेसँगै अप्रत्याशित रूपमा दर्शक तानिरहेको छ । गाईलाई केन्द्रमा राखेर सपनाजस्तो कथावस्तु प्रस्तुत गरिएको यो फिल्म कमजोर एनिमेसन, अलमले कथा र असामान्य दृश्यका कारण सुरुमा लगभग कसैको नजरमा परेको थिएन । तर, इन्टरनेटले फिल्मलाई खोजेर ‘पत्ता लगाएपछि’ यसको भाग्य नै बदलिएको छ ।
प्रदर्शनमा आएको पहिलो १० दिनमा फिल्मले जम्मा ७ हजार ७०५ युआन अर्थात् करिब १ हजार १४० अमेरिकी डलर कमाएको थियो । तर अहिले यसको कुल कमाइ १ करोड १४ लाख युआनभन्दा माथि पुगिसकेको छ । चीनको चलचित्र व्यापारको तथ्यांक राख्ने माओ यानका अनुसार फिल्मले केही समयमै यति ठूलो छलाङ मारेको हो ।
अझ रोचक कुरा, अहिले ‘निउ लाई’ले हलिउडका ठूला ब्लकबस्टर फिल्महरू ‘द ओडिसी’ र ‘स्पाइडर–म्यान ः ब्रान्ड न्यू डे’सँगै बक्स अफिसमा आफ्नो स्थान कायम गरिरहेको छ । फिल्म हेरेका वा यसको चर्चा गरिरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसलाई गम्भीर फिल्मका रूपमा भन्दा एउटा अनौठो मनोरञ्जनका रूपमा लिन थालेका छन् । “तपाईंले यो फिल्म हेर्नुभयो भने ८० मिनेटसम्म पछुताउन सक्नुहुन्छ, तर हेर्नुभएन भने जीवनभर पछुताउनुहुनेछ,” फिल्मबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा पोस्टमा लेखिएको छ ।
फिल्मको खराब ग्राफिक्स र बुझ्नै कठिन कथाले नै यसलाई चर्चित बनाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिल्मका दृश्यहरू काटेर क्लिप बनाउँदै व्यापक रूपमा साझा गरिरहेका छन् । केहीले त यसलाई सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको एआईबाट बनाइएका सतही र गुणस्तरहीन सामग्री (एआई स्लोप) को ‘एन्टीडट’समेत भन्न थालेका छन् ।
विशेष गरी फिल्मको ‘हातैले बनाइएको’ शैलीलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रशंसा भइरहेको छ । यहाँ ‘हातैले बनाइएको’ भन्ने अभिव्यक्ति वास्तवमा फिल्मको अत्यन्तै कमजोर एनिमेसन गुणस्तरतर्फ संकेत हो । प्रयोगकर्ताहरूले यही कमजोरीलाई फिल्मका निर्माताले एआई प्रयोग नगरेको प्रमाणका रूपमा समेत प्रस्तुत गरिरहेका छन् । वेइबो सामाजिक सञ्जालका एक प्रयोगकर्ताले लेखेका छन्, “यो त साँच्चिकै गम्भीर किसिमको शिल्पकला हो ।”
अर्का प्रयोगकर्ताले फिल्मलाई “शतप्रतिशत हातैले बनाइएको” भन्दै यसलाई यस वर्षको गर्मीयामको चलचित्र सिजनको सबैभन्दा ठूलो ‘डार्क हर्स’ अर्थात् अप्रत्याशित रूपमा सफल हुने फिल्म भनेका छन् । तर ‘निउ लाई’ को चर्चा फिल्मको खराब गुणस्तरमा मात्र सीमित छैन । चीनको शेयर बजारसँग जोडिएको एउटा शब्दखेलले पनि यसलाई सामाजिक सञ्जालमा थप चर्चित बनाएको छ । केही दर्शकले फिल्मको सफलताको समर्थन गर्नुको कारण आफूहरू चिनियाँ शेयर बजार ‘बुलिस’ भएको हेर्न चाहनु रहेको बताएका छन् । यसको पछाडि चिनियाँ भाषाको शब्दखेल छ । चिनियाँ भाषामा ‘बुल’ र ‘गाई’ दुवैका लागि एउटै चिनियाँ अक्षर प्रयोग हुन्छ । एक जना वेइबो प्रयोगकर्ताले लेखेका छन्, “यदि भोलि सूचकांक ४ हजार पुग्यो भने म यो फिल्मलाई समर्थन गर्न चलचित्रघर जानेछु ।”
अर्को टिप्पणीमा फिल्मलाई शेयर बजारको लगानीसँग जोड्दै लेखिएको छ, “यो खराब फिल्म हो, तर यसको नाम उत्कृष्ट छ ।” ‘निउ लाई’ सुरुदेखि नै कम बजेटमा बनेको र खासै प्रचार नगरिएको फिल्म थियो । यस महिनाको सुरुआतमा प्रदर्शनमा आउनुअघि यसको प्रचारप्रसार लगभग शून्य थियो । सामान्यतया ठूलो बजेटका फिल्मले प्रदर्शनअघि व्यापक विज्ञापन र प्रचार अभियान चलाउने भए पनि ‘निउ लाई’ त्यस्तो कुनै अभियानबिना नै हलमा पुगेको थियो ।
तर अहिले अवस्था उल्टिएको छ । सामाजिक सञ्जालमा फिल्मको चर्चा बढ्दै गएपछि दर्शकको माग यति धेरै बढ्यो कि चलचित्रघरहरूले माग पूरा गर्न फिल्मका थप प्रदर्शनहरू थप्न थाले । अझ हास्यास्पद पक्ष के छ भने फिल्मसँग दर्शक तान्न प्रयोग गर्न मिल्ने राम्रो प्रचार पोस्टरसमेत छैन । त्यसैले केही चलचित्रघरका कर्मचारी आफैंले फिल्मका पोस्टर कोरेर दर्शकलाई हलसम्म तान्ने प्रयास गरिरहेका छन् । कमजोर एनिमेसन र लगभग शून्य प्रचारबाट सुरु भएको फिल्म अहिले दर्शकको मागका कारण थप प्रदर्शन पाउने अवस्थामा पुगेको छ ।
चलचित्रको प्रदर्शन र व्यापारको तथ्यांक पछ्याउने एउटा वेइबो खाताले यो घटनालाई टिप्पणी गर्दै लेखेको छ, “यो कीर्तिमान अभूतपूर्व छ र सम्भवतः लामो समयसम्म यस्तै रहनेछ ।” तर ‘निउ लाई’ को अप्रत्याशित सफलतामा सबै खुसी भने छैनन् । राज्य सञ्चालित ‘बेइजिङ न्युज’ ले सप्ताहन्तमा प्रकाशित गरेको एउटा टिप्पणीमा चलचित्रघरहरूले ‘निउ लाई’ का थप प्रदर्शनहरू राखिरहँदा दर्शकको “विश्वास गुमाउने” जोखिम रहेको चेतावनी दिएको छ ।
कमजोर गुणस्तरका कारण यसअघि नै व्यङ्ग्य र आलोचनाको पात्र बनेका केही फिल्महरूको उदाहरण दिँदै ‘बेइजिङ न्युज’ ले ‘निउ लाई’ ले “खराब तरिकाले बनाइएका फिल्मप्रति दर्शकले राख्ने अपेक्षाको स्तरलाई फेरि एकपटक तल झारेको” टिप्पणी गरेको छ ।
राज्य सञ्चालित सञ्चारमाध्यमले चलचित्रघरहरूलाई दर्शकका लागि ‘द्वारपाल’को भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ । स्पष्ट रूपमा निर्धारित गुणस्तर पूरा नगर्ने फिल्मलाई अस्वीकार गर्नुपर्ने र ‘निउ लाई’ जस्ता फिल्मलाई अनियन्त्रित रूपमा प्रदर्शन हुन दिन नहुने उसको तर्क छ । तर, चलचित्रको गुणस्तरबारे बहस जति चर्किए पनि ‘निउ लाई’ ले एउटा कुरा भने प्रमाणित गरिसकेको छ—कहिलेकाहीँ फिल्मलाई हिट बनाउन उत्कृष्ट कथा, महँगो कलाकार वा भव्य दृश्य आवश्यक नपर्न सक्छ । कहिलेकाहीँ दर्शकलाई तान्न फिल्म ‘यति खराब’ हुनुपर्छ कि मानिसहरू त्यसलाई आफ्नै आँखाले हेरेर विश्वास गर्न चाहून् ।
पहिलो १० दिनमा ७ हजार ७०५ युआनमा सीमित भएको ‘निउ लाई’ को १ करोड १४ लाख युआनभन्दा बढीको यात्रा त्यसैको अनौठो उदाहरण बनेको छ । अर्थात्, चीनमा अहिले एउटा यस्तो फिल्म चलिरहेको छ, जसलाई हेर्न मानिसहरू राम्रो छ भनेर होइन— ‘कति खराब रहेछ, आफैं हेरौँ न’ भनेर चलचित्रघर पुगिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्