नेभिगेशन
मनोरञ्जन

‘द ओडिसी’ले बक्स अफिस तताउँदा सिनेमा हल डुब्दै !

क्रिस्टोफर नोलानको तीन घण्टा लामो ‘द ओडिसी’ले बक्स अफिसमा तहल्का मच्चाए पनि सिनेमा हलहरू भने लामो चलचित्रका कारण घाटामा छन् । कर्जन सिनेमाका प्रमुख फिलिप न्याचबुलका अनुसार बढ्दो खर्च र स्ट्रिमिङको दबाबले यो क्षेत्र अस्तित्वको संकटमा छ । यसलाई बचाउन उनी हलहरूलाई रेस्टुरेन्ट र पडकास्ट स्टुडियोसहितको आधुनिक सांस्कृतिक केन्द्र बनाउँदैछन् ।

बेलायतको सिनेमा हल कर्जनका प्रमुख फिलिप न्याचबुलले क्रिस्टोफर नोलानको नयाँ चलचित्र ‘द ओडेसी’ (होमरको कथामा आधारित) को खुलेर तारिफ गरेका छन् । करिब तीन घण्टा लामो यस चलचित्रलाई उनी ‘असाधारण उपलब्धि’ मान्छन् । यस्तो सोच्ने उनी मात्र एक्ला व्यक्ति होइनन्; म्याट डेमनले ग्रीक नायकको भूमिका निर्वाह गरेको यस चलचित्रलाई समीक्षकहरूले पनि निकै रुचाएका छन् । दर्शकले पनि उत्तिकै रूचाएकाले नै अहिलेसम्मकै सबैभन्दा बढी कमाउने आईम्याक्स फिल्म बन्न पुगेको छ ।

तर फिल्मको लम्बाईप्रति भने सिनेमा हलवालाहरू निकै दुःखी छन् । यति लामा चलचित्रहरू देखाउँदा सिनेमा हलहरूलाई सधैं आर्थिक रूपमा फाइदा भने हुँदैन । “चलचित्र छोटो छ भने दर्शकहरूलाई पनि बढी तान्छ र चलचित्र सफल भयो भने दिनमा धेरै पटक देखाउन (शो गर्न) पनि मिल्छ,” न्याचबुलले भने । सिनेमा चेन ‘पिक्चरहाउस’की पूर्व प्रबन्ध निर्देशक क्लेयर बिन्सले यस वर्षको सुरुमा लामा चलचित्रहरूको बारेमा चिन्ता व्यक्त गरेकी थिइन् । चलचित्र लामो हुँदा हलमा कम शो हुन्छन् र आम्दानी पनि घट्छ भनेर उनले चेतावनी दिएपछि न्याचबुलको यस्तो भनाइ आएको हो ।

पछिल्ला वर्षहरूमा सिनेमा हल सञ्चालन गर्ने खर्च ह्वात्तै बढेको छ । बिजुली, कर्मचारी र करको भार बढेकाले टिकटको मूल्य बढाउनुपर्ने बाध्यता छ ।

“कोभिड सुरु भएदेखि दुई वर्षअघिसम्म हामीले सिनेमाको टिकटको मूल्य नबढाउन निकै कोसिस ग¥यौं । तर हलमै घाटा हुन्छ भन्ने थाहा हुँदाहुँदै व्यवसाय चलाउन नसकिने रहेछ भन्ने हामीले पछि महसुस गर्यौं,” न्याचबुलले भने ।

अनि चलचित्र लामो हुनासाथ राम्रो नै हुन्छ त भन्ने प्रश्न पनि उठ्छ । “मलाई लाग्छ, अहिले राम्रा निर्माताहरूको कमी छ र धेरैजसो चलचित्र निर्माता तथा निर्देशकहरूको आफ्नै चलचित्रमा आवश्यकताभन्दा बढी नियन्त्रण छ,” न्याचबुलले भने, “चलचित्र छोटो भएको खण्डमा पनि उत्तिकै वा अझै राम्रो हुन सक्छ भन्ने कुरा स्वीकार्न उनीहरू तयार छैनन् ।”

उनले थपे, “मैले यस वर्ष कान्स फिल्म फेस्टिभलमा हेरेको सबैभन्दा राम्रो चलचित्र पावेल पावलिकोवस्कीको (फादरल्यान्ड) थियो । यो जम्मा ७२ मिनेट लामो छ र यसको हरेक दृश्य उत्कृष्ट छ । त्यो हेरिसकेपछि लाग्छ, ‘हो, छोटो र राम्रो चलचित्र बनाउन सम्भव छ !’”

न्याचबुलले सन् २००६ मा कर्जन सिनेमा हल किनेका थिए र यसलाई स्वतन्त्र सिनेमाको क्षेत्रमा एउटा ठूलो नाम बनाएका थिए । सन् २०१९ मा उनले यो कम्पनी अर्बपति चाल्र्स कोहेनलाई बेचेका थिए । तर सन् २०२४ मा अमेरिकी लगानी कम्पनी ‘फोट्र्रेस’ले यसलाई किनेपछि उनी फेरि अध्यक्ष र सीईओको रूपमा यसलाई चलाउन फर्किए । यो व्यवसायका बेलायतभर १४ वटा शाखाहरू छन् । यसले चलचित्र वितरण र अन्य काम पनि गर्छ । यसले विवादित आइरिस ¥यापरहरूको कथामा आधारित सन् २०२४ को बायोपिक ‘नीक्याप’ र बोङ जुन होको ओस्कार विजेता चलचित्र ‘प्यारासाइट’ जस्ता अवार्ड जित्ने चलचित्रहरू पनि वितरण गरेको थियो ।

अब कर्जनमा फर्किसकेपछि, न्याचबुल आधुनिक समय सुहाउँदो छिमेकी सिनेमा हलको नयाँ अवधारणा ल्याउन चाहन्छन् । केही महिनामा, कम्पनीले पश्चिम लन्डनको चेल्सीमा आफ्नो मुख्य शाखा खोल्दैछ । २० हजार वर्ग फुटको यो ठाउँमा तीनवटा सिनेमा हल (अडिटोरियम) सँगै पडकास्ट स्टुडियो, लेखकहरूको लागि कोठा र पूर्ण सुविधासहितको रेस्टुरेन्ट पनि हुनेछ ।

“हामी यसलाई फराकिलो सांस्कृतिक र जीवनशैलीसँग जोडिएको ब्रान्ड बनाउँदै छौँ,” उनले भने । व्यवहारमा यसको अर्थ मानिसहरूलाई घरबाट र मोबाइल फोनबाट बाहिर निकालेर प्रत्यक्ष मनोरञ्जन र कार्यक्रमहरूमा बढी ध्यान दिनु हो ।
‘द ओडेसी’ जस्ता ठूला चलचित्रहरूको सफलताका बाबजुद पनि मूलधारको सिनेमाले ‘अस्तित्वको संकट’ सामना गरिरहेको उनले चेतावनी दिएका छन् । “सामाजिक सञ्जालको नीरस स्वभावका कारण युवा पुस्ता आफू र अरू मानिसहरूबाट टाढा भएका छन्,” उनले भने ।

“हामीले के याद गर्नुपर्छ भने, सन् १९५० को दशकमा बेलायतका सिनेमा हलहरूमा एक अर्बभन्दा बढी दर्शक आएका थिए । त्यसपछिको सबैभन्दा राम्रो वर्ष मानिएको सन् २०१९ मा करिब १८ करोड दर्शक थिए । १९५० को दशकमा दर्शक घट्नुको कारण के थियो ? टेलिभिजन । अहिले स्ट्रिमिङ प्लेटफर्महरू आएका छन् र त्यसैकारण दर्शकको संख्या घटेको छ । त्यसैले हामीले सिनेमालाई फेरि नयाँ स्वरूपमा ढाल्नुपर्छ ।”

त्यसो भए कर्जनका हलहरूमा जाने खर्चको बारेमा नि ? कर्जनमा ‘द ओडेसी’ हेर्न सामान्य टिकटको मूल्य १८ पाउन्डभन्दा बढी पर्छ । “हामी सस्तो टिकटको मूल्य ६ वा ७ पाउन्डमै राख्ने तर विशेष सेवा लिन आउनेहरूका लागि बढी शुल्क लिने उपाय खोजिरहेका छौं,” न्याचबुलले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्