नेभिगेशन
अर्थतन्त्र

बिजस हायर पर्चेजको नयाँ ब्रान्ड ‘नियोफिन’

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृति प्राप्त बिजस हायर पर्चेज प्रालि नाम परिवर्तन गरी नियोफिन हायर पर्चेज प्रालिका रूपमा नयाँ ब्रान्ड पहिचानसहित अघि बढेको छ । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको कम्पनीले एक शताब्दीभन्दा लामो व्यावसायिक विरासतलाई निरन्तरता दिँदै आफूलाई डिजिटल प्रविधिमा आधारित आधुनिक गैरबैंकिङ वित्तीय संस्थाका रूपमा रूपान्तरण गरेको जनाएको छ ।

कम्पनीले पोखरा र काठमाडौँबाट आफ्नो वित्तीय सेवा विस्तार गर्दै सवारीसाधन, स्मार्टफोन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य वस्तुका लागि हायर पर्चेज र किस्ताबन्दीमा आधारित वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । हाल कम्पनीसँग ७५ हजारभन्दा बढी ग्राहक र ४ हजारभन्दा बढी मर्चेन्ट साझेदार रहेका छन् भने कम्पनीले २४० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ।
कम्पनीको इतिहास बिजस इन्भेस्टमेन्ट कम्पनी प्रालिका रूपमा पोखरामा दर्ता भएको थियो । वि.सं. २०६० असोज २८ गते बिजस इन्भेस्टमेन्ट कम्पनी प्रालिका नाममा पोखरामा दर्ता भई काठमाडौँमा शाखा विस्तार गरेको कम्पनीले वि.सं. २०७१ माघ २१ गते नेपाल राष्ट्र बैंकबाट गैरबैंकिङ वित्तीय संस्थाअन्तर्गत हायर पर्चेज कर्जा प्रवाह गर्ने इजाजतपत्र प्राप्त गरेको थियो । 
त्यसपछि वि.सं. २०८० पुस १९ गते कम्पनीको साविक नाम परिवर्तन गरी बिजस हायर पर्चेज प्रालि राखिएको थियो। वि.सं. २०८१ चैत २५ गते केडिया अर्गनाइजेसनले कम्पनीको पूर्ण स्वामित्व प्राप्त गरेको थियो। अहिले सोही संस्थाले ‘नियोफिन’ नामबाट नयाँ ब्रान्ड पहिचानसहित सेवा विस्तार थालेको हो।
नियोफिनले वित्तीय पहुँच विस्तारसँगै डिजिटल प्रविधिमा आधारित सेवामा जोड दिएको जनाएको छ। कम्पनीले सवारीसाधन, स्मार्टफोन, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तु खरिदका लागि ६ देखि ८४ महिनासम्मको लचिलो किस्ताबन्दी योजना उपलब्ध गराउने जनाएको छ।
प्रतिस्पर्धी ब्याजदर र छिटो कर्जा स्वीकृति प्रक्रियामार्फत वित्तीय पहुँचको अन्तर कम गर्ने लक्ष्य कम्पनीले राखेको छ। कर्जा स्वीकृति केही मिनेटमै सम्पन्न गर्ने प्रणाली, कर्जा व्यवस्थापन, ‘बाइ नाउ पे लेटर’ सेवा, मोबाइल अनुप्रयोग तथा अनलाइन कर्जा आवेदनजस्ता डिजिटल सुविधा विकास गरिएको कम्पनीले जनाएको छ।
नेपाल राष्ट्र बैंकद्वारा नियमनमा रहेको कम्पनीले नियामकीय मापदण्डअनुसार चुक्ता पुँजी कायम गर्दै सुशासन, अनुपालन र पारदर्शितामा निरन्तर जोड दिँदै आएको जनाएको छ ।
केडिया अर्गनाइजेसनअन्तर्गत रहेका सिद्धार्थ बैंक, सिद्धार्थ क्यापिटल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अवसर इक्विटी तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलगायत संस्थाबाट प्राप्त संस्थागत अनुशासन र दशकौँको अनुभवले नियोफिनको नयाँ यात्रालाई थप सुदृढ बनाउने उल्लेख गरेको छ ।
कम्पनीका अनुसार नियोफिन हायर पर्चेज प्रालि केडिया अर्गनाइजेसनअन्तर्गतको वित्तीय प्रविधि इकाइका रूपमा सञ्चालनमा रहेको छ। यसको प्रधान कार्यालय पोखरा–८, न्युरोडमा तथा शाखा कार्यालय काठमाडौँ–१, नक्सालमा रहेको छ।
नयाँ ब्रान्ड पहिचानसँगै कम्पनीले डिजिटल प्रविधिमा आधारित हायर पर्चेज तथा किस्ताबन्दी वित्तीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। ७५ हजारभन्दा बढी ग्राहक र ४ हजारभन्दा बढी मर्चेन्ट साझेदारको आधारलाई विस्तार गर्दै प्रविधिमार्फत छिटो र सहज कर्जा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्