नेभिगेशन
अर्थतन्त्र

नेपाली ब्रान्ड जेम्स शुज फुटवेयर इन्डिया एक्स्पोमा

काठमाडौं । नेपाली फूटवेयर ब्रान्ड ‘जेम्स’ भारतको नयाँ दिल्लीमा फुटवेयर इन्डिया एक्स्पो–२०२६मा सहभागी हुने भएको छ ।
नयाँ दिल्लीस्थित प्रगति मैदानमा शुक्रबारदेखि  सुरु हुने तीनदिने प्रदर्शनीमा सहभागिता जनाउन लागेको जेम्स ब्रान्डको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले जनाएको हो । कम्पनीले प्रगति मैदानको हल नम्बर १४ मा आफ्ना उत्पादन प्रदर्शन गर्नेछ ।
नेपाल जुत्ता फ्याक्ट्रीका प्रमुख कार्यकारी अधिकृत विकास अर्यालका अनुसार लामो समयपछि नेपाली जुत्ता उद्योगले भारतमा आयोजना हुने यस प्रकृतिको अन्तर्राष्ट्रिय व्यापारिक प्रदर्शनीमा सहभागिता जनाउन लागेको छ । नवलपुरमा कारखाना र काठमाडौंको ठूलो भ¥याङमा कर्पोरेट कार्यालय रहेको कम्पनीले करिब २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको छ ।
कम्पनीका उत्पादन ‘जेम्स’ ब्रान्डका नाममा नेपाली बजारमा बिक्री हुँदै आएका छन् । गुणस्तर, आराम र आधुनिक डिजाइनलाई केन्द्रमा राखेर उत्पादन गर्दै आएको कम्पनीले अब स्वदेशी बजारमा सीमित ब्रान्ड पहिचानलाई क्षेत्रीय बजारसम्म विस्तार गर्ने रणनीति अघि सारेको छ । कम्पनीका अनुसार एक्स्पोमा नयाँ तथा विविध जुत्ता–चप्पलका उत्पादन प्रदर्शन गरिनेछ । 
कम्पनीले एक्स्पोलाई भारतीय बजारमा प्रवेशका लागि वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता तथा अन्य व्यावसायिक साझेदार खोज्ने अवसरका रूपमा पनि लिइएको उल्लेख गरेको छ । भारतमा उत्पादन निर्यात तथा बजार विस्तारका सम्भावना पहिल्याउने, दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्ने र क्षेत्रीय बजारमा ब्रान्डको पहिचान विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

अर्यालका अनुसार एक्स्पोमा भारतका करिब चार सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ । त्यहाँ जुत्ता उत्पादकसँगै वितरण, खुद्रा व्यापार, कच्चा पदार्थ, सहायक सामग्री तथा जुत्ता उत्पादनसम्बन्धी मेसिनरी व्यवसायीको समेत सहभागिता रहने भएकाले नेपाली कम्पनीका लागि बजार बुझ्ने र सम्भावित साझेदार पहिचान गर्ने अवसर बन्नेछ ।
फुटवेयर इन्डिया एक्स्पो भारतको फुटवेयर उद्योगमा केन्द्रित ‘बीटुबी’ व्यापारिक प्रदर्शनी हो । यसमा ब्रान्ड उत्पादक, थोक व्यापारी, वितरक, सहायक सामग्री तथा पार्टपुर्जा उत्पादक, कच्चा पदार्थ र मेसिनरी आपूर्तिकर्तालाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखिएको छ । प्रदर्शनीमा नयाँ उत्पादन र डिजाइन प्रस्तुत गर्नुका साथै व्यापारिक साझेदारी तथा बजार विस्तारका लागि प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर उपलब्ध हुनेछ ।
नेपाल जुत्ता फ्याक्ट्रीले पनि एक्स्पोमार्फत भारतीय बजारको नयाँ प्रवृत्ति, डिजाइन र बजार विकासबारे जानकारी हासिल गर्ने लक्ष्य राखेको जनाएको छ । एक्स्पोमा सहभागिताले नेपाली उत्पादनको गुणस्तर, उत्पादन क्षमता र जेम्स ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर दिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्