नेभिगेशन
अर्थतन्त्र

नेपाली प्रविधिकर्मीहरूलाई ग्लोबल मार्केटसँग जोड्दै वर्डक्याम्प

काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । वर्डप्रेस काठमाडौँको आयोजनामा हुन लागेको यस दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको बाक्लो उपस्थिति रहने भएको छ ।
सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ रहनेछ  । यसमा सहभागी तथा विकासकर्ताहरूले वर्डप्रेस सफ्टवेयरको मुख्य कोडिङ, नेपाली भाषा अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षणमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन् । साथै अनुभवी प्रशिक्षकहरूबाट प्रत्यक्षरूपमा वर्डप्रेसको तालिम समेत दिइने भएकोले सहभागीहरुले प्राविधिक सिप निखार्नुको साथै अन्तर्राष्ट्रिय स्तरको अनुभव र व्यक्तिगत प्रोफाइललाई निकै बलियो बनाउन सक्नेछन्  ।
सम्मेलनको दोस्रो दिन आधुनिक प्रविधि, निःशुल्क र खुल्ला स्रोत प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), र सुरक्षित वेब विकासमा केन्द्रित प्राविधिक तथा व्यावसायिक सत्रहरू सञ्चालन हुनेछन् । विशेष गरी एआईको सहयोगमा छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने कार्यप्रणाली, युआई–युएक्स, स्मार्ट प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीका विविध पक्षहरूबारे विशेषज्ञ र अनुभवी वक्ताहरुद्वारा तालिमहरू सञ्चालन हुनेछन् । 
सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, र फिलिपिन्स लगायतका मुलुकबाट आएका ख्यातिप्राप्त प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक र समुदायका अगुवाहरूले आफ्नो प्रस्तुति दिनेछन् । साथै नेपालमै बसेर  विदेशी ग्राहकहरूसँग कसरी काम गर्ने आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरेर मुद्रा आर्जन गर्ने व्यवहारिक र रणनीतिक पाटोहरूको बारेमा पनि छलफल हुनेछन् । 
कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा नयाँ प्रतिभाहरूका लागि रोजगारी, इन्टर्नसिप र मेन्टरसिपको उत्कृष्ट ढोका खोल्नेछ । सहभागीहरूले दिनभर विभिन्न कम्पनीका नेतृत्वहरूसँग सम्बन्ध विस्तार गर्ने, आफ्ना समस्या र नयाँ सोचहरूमा छलफल गर्ने, आधिकारिक उपहारहरू प्राप्त गर्ने तथा सम्मेलनपछि आयोजना हुने अनौपचारिक कार्यक्रममा सहभागी भई प्रविधि समुदायसँग आत्मीय सम्बन्ध बनाउने मौका पाउनेछन् ।
यस पटकको सम्मेलनलाई विश्वप्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले भव्य रूपमा प्रायोजन तथा सहभागिता जनाउने पक्का भएको छ । कार्यक्रमको प्लाटिनम प्रायोजकका रूपमा ब्लुहोस्ट, होस्टिङ डटकम , जेटप्याक र उ रहेका छन् । त्यस्तै एकेडेमिक पार्टनरका रूपमा टेक्सास इन्टरनेसनल कलेज, ब्रोन्ज प्रायोजकमा एलिमेन्टर तथा आफ्टर पार्टी प्रायोजकका रूपमा भिलेज हाइल्यान्ड रिसोर्टले साथ दिएका छन् । सहभागीहरूले यी विश्वस्तरीय प्रविधि कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ, आफ्ना नवीन प्राविधिक अवधारणाहरूको प्रस्तुति तथा रोजगारी र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू पहिल्याउन सक्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्