नेभिगेशन
अर्थतन्त्र

होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्ने

काँकडभिट्टा । होटल व्यवसायी महासंघ नेपालेले नेपालको पूर्वी नाका काकडभिट्टामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।
महासंघले शनिबार कोशी प्रदेशका पर्यटन सम्बद्ध निकाय तथा संस्थाका प्रतिनिधिहरूसँग होटल तथा पर्यटन क्षेत्रका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो  ।
होटल न्यू हिकोला हेरिटेज, काँकडभिट्टामा सम्पन्न कार्यक्रम होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर) को सभापतित्व र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यतामा मा सम्पन्न भएको थियो  ।
कार्यक्रममा नेपाल प्रहरीका तर्फबाट इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक अशेष चापागाई तथा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, मेची भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईं लगायतको उपस्थिति रहेको थियो । साथै कोशी प्रदेश, झापा जिल्ला संघ तथा विभिन्न स्थानीय इकाइका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
अन्तरक्रियाका क्रममा होटल तथा पर्यटन व्यवसायीहरूले होटल व्यवसाय सञ्चालन, पर्यटन प्रवद्र्धन, पर्यटकको सुरक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए ।
व्यवसायीहरूले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्ट व्यवसायलाई उद्योग सरहको मान्यता प्रदान गर्नुपर्ने माग राखेका थिए ।
सुरक्षा निकायका प्रतिनिधि समक्ष प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा २४ घण्टा पर्यटकमैत्री सेवा तथा सुरक्षा सुनिश्चित गर्ने योजना बारे व्यवसायीहरूले जिज्ञासा राखेका थिए । साथै सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्दै भारतीय पर्यटकलाई नेपाल प्रवेशमा सहज वातावरण र आवश्यक सहजीकरण गर्न व्यवसायीहरूले आग्रह गरेका थिए ।
कार्यक्रममा उठाइएका प्रश्न तथा मागका विषयमा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्राधिकारभित्रका व्यवस्था, योजना तथा सम्भावित पहलका बारेमा जानकारी दिँदै व्यवसायीका जिज्ञासाको जवाफ दिएका थिए ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले होटल तथा पर्यटन व्यवसायीका साझा समस्या समाधानका लागि केन्द्रीय तहबाट आवश्यक पहल, समन्वय र नीतिगत पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
भारत, बंगलादेश र भुटान समेतका पर्यटकहरुको प्रमुख आगमन नाका पूर्वी नेपालको काकडभिट्टामा उम्पन्न उक्त अन्तरक्रियाले होटल तथा पर्यटन व्यवसायी, स्थानीय तह, सुरक्षा निकाय, भन्सार तथा पर्यटन सम्बद्ध सरकारी निकायबीच प्रत्यक्ष संवाद र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्