नेभिगेशन
अर्थतन्त्र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ।
एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताए ।
“हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा  गैरआवासीय नेपाली व्यावसायिक समुदायउबीच सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ”, उनले भने, “दुवै पक्षबीच ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदान गर्नका लागि मार्गप्रशस्त गर्नेछ ।”
एनआरएनएका अध्यक्ष डा शर्माले नेपालका विभिन्न कानुनी जटिलताको कारणले वैदेशिक लगानी भित्राउनको लागि समस्या भइरहेको गुनासो गरे ।
उनले भने, “दुवैबीच भएको समझदारीपत्रले पक्कै पनि व्यापार प्रवर्द्धन र  देशमा प्रत्यक्ष लगानी भित्राउनको लागि नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ।”  दुवैपक्षबीच भएको समझदारीमा एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन्।
त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ। त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य  गर्ने उल्लेख गरिएको छ । क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन्।
व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण भित्राउन नसकिने बताए । “आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले भने, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ ।”
अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले एनआरएनए केवल विदेशमा बस्नेको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्