नेभिगेशन
अर्थतन्त्र

बतास हायर पर्चेजको नाम परिवर्तन, नियोफिन ब्रान्डमा नयाँ यात्रा

काठमाडौं । केडिया अर्गनाइजेसनअन्तर्गतको बतास हायर पर्चेज प्रालिले आफ्नो नाम परिवर्तन गरी ‘नियोफिन हायर पर्चेज प्रालि’का रूपमा नयाँ ब्रान्ड पहिचानसहित सेवा विस्तार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृति प्राप्त कम्पनीले डिजिटल प्रविधिमा आधारित आधुनिक गैरबैंकिङ वित्तीय संस्थाका रूपमा आफूलाई रूपान्तरण गरेको जनाएको छ ।
पोखरामा विसं २०६० मा बतास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको कम्पनीले विसं २०७१ माघ २१ मा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा प्रवाह गर्ने इजाजत पाएको थियो । विसं २०८० पुस १९ मा यसको नाम परिवर्तन गरी बतास हायर पर्चेज राखिएको थियो । त्यसपछि विसं २०८१ चैत २५ मा केडिया अर्गनाइजेसनले कम्पनीको पूर्ण स्वामित्व लिएको थियो ।
कम्पनीका अनुसार हाल नियोफिनले ७५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । कम्पनीको कर्जा प्रवाह २४० करोड रुपैयाँभन्दा बढी पुगेको छ भने नेपालभर चार हजारभन्दा बढी व्यापारी साझेदार आबद्ध छन् ।
नियोफिनले सवारीसाधन, स्मार्टफोन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य वस्तु खरिदका लागि ६ देखि ८४ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले प्रतिस्पर्धी ब्याजदर र छिटो कर्जा स्वीकृतिमार्फत वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले डिजिटल प्रविधिमा समेत लगानी बढाएको छ । कर्जा स्वीकृतिको प्रक्रिया केही मिनेटमै सम्पन्न गर्ने प्रणाली, कर्जा व्यवस्थापन, ‘अहिले किन्ने, पछि तिर्ने’ सेवा, मोबाइल एप तथा अनलाइन कर्जा आवेदनजस्ता सुविधा विकास गरिएको कम्पनीले जनाएको छ । शाखा कार्यालय नपुगेका स्थानका ग्राहकलाई समेत डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
नियोफिनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद तिम्सिनाले नाम परिवर्तन मात्रै नभई डिजिटल दक्षता, जिम्मेवार कर्जा प्रवाह र समावेशी वित्तीय पहुँचप्रतिको दीर्घकालीन प्रतिबद्धताको रूपमा कम्पनीको रूपान्तरणलाई लिनुपर्ने बताए ।
‘नियोफिनमा भएको यो रूपान्तरण हाम्रो लागि केवल नाम परिवर्तन मात्र होइन, डिजिटल दक्षता, जवाफदेहीपूर्ण कर्जा प्रवाह र समावेशी वित्तीय पहुँचप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो,’ उनले भने, ‘नेपालका युवा, साना व्यवसायी र वित्तीय सेवाको पहुँचबाट वञ्चित समुदायसम्म भरपर्दो, पारदर्शी र छिटो वित्तीय समाधान पु¥याउन प्रतिबद्ध छौं ।’
नेपाल राष्ट्र बैंकको नियमनमा रहेको कम्पनीले नियामकीय मापदण्डअनुसार चुक्ता पुँजी कायम गर्दै सुशासन, अनुपालन र पारदर्शितालाई प्राथमिकता दिँदै आएको जनाएको छ । केडिया अर्गनाइजेसनअन्तर्गतका सिद्धार्थ बैंक, सिद्धार्थ क्यापिटल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अवसर इक्विटी र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलगायत संस्थाको अनुभव र संस्थागत अनुशासनले नियोफिनको नयाँ यात्रालाई थप बलियो बनाउने कम्पनीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्