नेभिगेशन
साहित्य

राष्ट्रिय कविता प्रतियोगितामा जुम्लाका मञ्जिल प्रथम

मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका–४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन् । ‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो । 
    मकवानपुरको भीमफेदी–१ मा आज आयोजित कविता प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गरे । प्रतियोगितामा लालबन्दी नगरपालिका–४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाऊँ ?’ शीर्षकको कविता द्वितीय भई रु ३० हजार, अर्जुनधारा नगरपालिका–५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई रु २० हजार प्राप्त गरे । प्रतियोगितामा काठमाडौंका चेतना शर्माको ‘रातो क्यानभास’ कविता र भीमदत्त नगरपालिका–१८, कञ्चनपुरका धीरज नाथको ‘बगैंचा’ कवितालाई प्रोत्साहन स्वरुप रु १०–१० हजार प्रदान गरिएको छ । 
    विजयी सबैलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले नगद पुरस्कार प्रदान गर्दै नेपाली साहित्यको उत्थानमा साहित्यकार तुल्सी थापाको योगदानको स्मरणसहित राष्ट्रियस्तरको कविता प्रतियोगिता आयोजना गरिएको बताए । देशका सातै प्रदेशबाट प्राप्त ४९२ मध्येबाट छानिएका उत्कृष्ट १० कविता वाचन गराएर पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए । आगामी दिनमा साहित्य विकास र श्रष्टाको सम्मानका लागि यस्ता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने अध्यक्ष लामाको भनाइ छ । 
    गाउँपालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो । प्रतियोगितामा विषयवस्तु, भाषा, सिर्जनात्मकता, सन्देशलगायत आधारमा कवितालाई मूल्यांकन गरिएको निर्णायक समितिका संयोजक साहित्यकार डा. निमेष निखिलले जानकारी दिए । गाउँपालिकाको आयोजना एवं बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा कवि श्रवण मुकारुङ, साहित्यकार आभाषलगायत उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्