नेभिगेशन
अर्थतन्त्र

नाडा अटो शोमा ५३ सवारी ब्राण्ड

काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु हुने नाडा अटो शोको सबै तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीका लागि २ सय १५ भन्दा बढी स्टल तयार भएर सजावट जारी रहेको जनाएको हो ।
यसपटकको सवारी मेलामा नयाँ तथा आयातित सवारीसाधनसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनलाई समेत प्राथमिकता दिइएको छ । आगामी आइतबारसम्म चल्ने प्रदर्शनीमा देशमै बनेका आठ उत्पादनलाई ‘मेड इन नेपाल’ प्याभिलियनमा राखिने भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीस्थललाई गत वर्षभन्दा फराकिलो र व्यवस्थित बनाइएको छ । प्रदर्शनीस्थललाई चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन, वित्तीय संस्था, अटो पाट्र्स तथा ग्यारेज उपकरण र ‘मेड इन नेपाल’ तथा अन्तर्राष्ट्रिय व्यापार प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।
यसपटक ५३ सवारीसाधन ब्रान्ड, ७० पाट्र्स तथा सेवा कम्पनी र करिब ११ बैंक तथा वित्तीय संस्था सहभागी हुँदैछन् । नेपालमै उत्पादन भएको यात्री स्कुटर, स्वदेशमा एसेम्बल हुने मोटरसाइकल तथा अटो रिक्सा, नेपाली हेल्मेट, टायर र लुब्रिकेन्ट्सलगायत उत्पादन प्रदर्शनीका आकर्षण हुनेछन् । अटो शोलाई लक्ष्य गर्दै सिप्रदी–यात्रीले सोमबार नै यात्री पी–टु स्कुटर सार्वजनिक गरेको छ ।
मेलामा ‘मेड इन नेपाल’ प्याभिलियनमा एसटीसी राइड एन्ड इनर्जी, एसियन ब्याट्रिज, नेपाल ल्युब आयलको गल्फ, पूर्वाञ्चल ल्युब आयलको पीएलओ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिजको केपीआई हेल्मेट, ल्युब भिस्टाको डकह्याम्स, ग्रिन टायर र यात्री स्कुटर राखिने भएको छ ।
यसअघि साउन २६–३१ भृकुटीमण्डपमै नाइमा नेपाल मोबिलिटी एक्स्पो  भएको थियो । करिब १० दिनको अन्तरालमा हुन लागेको अर्को ठूलो अटो प्रदर्शनीले स्वदेशी उत्पादन र अटोमोबाइल क्षेत्रको सम्भावनालाई थप उजागर गर्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्