नेभिगेशन
अर्थतन्त्र

नापीका एक सर्भेयरविरुद्ध गैरकानूनी आर्जनको मुद्दा

काठमाडौं । नापी कार्यालय नवलपरासीका सर्भेयर विन्देश्वर साह सुडीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । उनले ३ करोड ७१ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको हो ।
अमिन पदमा अस्थायी नियुक्ति लिएको मिति २०४६ वैशाख १६ देखि २०८१ जेठ मसान्तसम्म उनको नाममा ९ करोड ७५ लाख ६९ हजार बराबरको सम्पत्ति देखिएकामा ६ करोड ३ लाख ८५ हजारको मात्र स्रोत खुलेको आयोगद्वारा जारी विज्ञप्तिमा छ । 
आयोगले उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी आरोपपत्र दायर गरेको छ । वैधानिक आयभन्दा बढी देखिएको खर्च तथा लगानीको स्रोत पुष्टि हुन नसकेको आयोगको भनाइ छ । गैरकानुनी रूपमा आर्जित सम्पत्तिमध्ये केही उनकी श्रीमती सुमित्रादेवी साहको नाममा समेत रहेको आयोगले जनाएको छ । मुद्दामा सुमित्रादेवीलाई भने स्रोत नखुलेको सम्पत्तिबाट उनको नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोग प्रवक्त सुरेश न्यौपानेले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्