नेभिगेशन
अर्थतन्त्र

आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गरिने

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।  एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल  र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कान बीच भएको उक्त छलफलमा विशेषतः आप्रवासी नेपाली श्रमिकको  सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा विस्तृत छलफल भएको हो ।  यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । 
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विभिन्न देशमा आप्रवासी श्रमिकसँग सम्बन्धित समस्या फरक–फरक भए पनि धेरै देशमा समान प्रकृतिका चुनौती रहेको बताए ।  एनआरएनएले लामो समयदेखि नेपाली श्रमिकको हकहित र संरक्षणका लागि काम गर्दै आएको स्मरण गर्दै उनले कोभिड–१९ महामारीका समयमा समेत दुई संस्थाबीच भएको सहकार्यबाट धेरै नेपाली श्रमिक लाभान्वित भएको बताए ।  विदेशमा रहेका नेपाली श्रमिकले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपाल भित्र्याउन एनआरएनएले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले श्रमिकका समस्या एउटै क्षेत्रमा मात्र सीमित नरही युरोपलगायत विभिन्न क्षेत्रमा फैलिएकाले सम्बन्धित एनसीसीहरूको क्षमता र सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै आईएलओसँग मिलेर थप काम गर्न सकिने धारणा व्यक्त गरे । 
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले आप्रवासी नेपालीसम्म जानकारी पु¥याउन प्रत्यक्ष सम्पर्क र समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । उनले सुरुवातमा कम्तीमा थोरै संख्याबाट यस्ता कार्यक्रम सुरु गरेर क्रमशः विस्तार गर्न सकिने धारणा राखे  ।   नेपाल आउने नेपालीलाई कहाँ जाने, कसरी आवश्यक सेवा प्राप्त गर्ने तथा नेपालमा रहेका सम्बन्धित संयन्त्रसँग कसरी जोडिने भन्ने विषयमा मार्गदर्शन गर्न यस्तो सहकार्य उपयोगी हुने उनको भनाइ थियो । 
एनआरएनए महासचिव डा. चिरञ्जीवी खड्काले   मध्यपूर्वमा संघले प्रथम श्रमिक सम्मेलन गर्न लागेको जानकारीसहित निमन्त्रणा समेत दिए  । सामाजिक सुरक्षा आप्रवासी श्रमिकका लागि अत्यन्त महत्वपूर्ण विषय भएको बताए । उनले सम्बन्धित मन्त्रालय पनि यस विषयमा सहभागी हुन इच्छुक रहेको उल्लेख गर्दै एनआरएनएले सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिकलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले परियोजना विकास गरिरहेको जानकारी दिए ।  सम्बन्धित देशका स्रोत व्यक्ति तथा नेपालका विज्ञलाई समेत जोडेर कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।  खड्काले क्रोएसिया, रोमानिया लगायतका देशमा हरेक वर्ष ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेको उल्लेख गर्दै उनीहरूको सामाजिक सुरक्षा तथा कल्याणलाई प्राथमिकता दिनुपर्ने बताए ।  उनले  विदेशमा नेपाली श्रमिकको मृत्यु हुँदा शव नेपाल ल्याउने प्रक्रिया एनआरएनएका लागि ठूलो चुनौती रहेको बताए । 
विशेषगरी मध्यपुर्व र यूरोपमा कतिपय देशमा नियमित रूपमा नेपालीको मृत्यु हुने र शव नेपाल ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो अवस्थामा कानुनी प्रक्रिया, दोभाषे, कागजात, स्थानीय समन्वय तथा अन्य व्यवस्थापनमा ठूलो समस्या हुने बताए ।  यस्ता समस्या समाधान गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । 
आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर ) नुमान ओज्कानले आप्रवासी श्रमिकहरूको आवाजलाई सशक्त रूपमा उठाउन, विश्वभर रहेका नेपाली आप्रवासी समुदायलाई नेपालका सम्बन्धित संस्था तथा साझेदारहरूसँग जोड्न र संकट तथा कठिन परिस्थितिमा श्रमिकहरूलाई सहयोग गर्न एनआरएनएले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे  ।  उनले कुनै पनि कार्यक्रम वा परियोजनाको प्रभावकारिता बढाउन सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गरे ।  ‘हाम्रो उद्देश्य लक्षित मानिससम्म पुग्नु हो,’ भन्दै ओज्कानले समुदायसँग वास्तविक रूपमा संलग्न हुने र उनीहरूका समस्या  तथा आवश्यकतालाई सम्बोधन गर्ने प्रणाली बनाउने  सहकार्यमा  थप  जोड दिए ।  ओज्कानले आप्रवासनलाई सम्पूर्ण चक्रका रूपमा हेर्नुपर्ने बताए ।  वैदेशिक रोजगारीमा जानुअघि हुने तालिम, तयारी, सुरक्षा, लागत तथा अन्य प्रक्रियादेखि श्रमिक स्वदेश फर्किएपछिको अवस्थासम्म सरकारले व्यवस्थित प्रणाली बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्