नेभिगेशन
अर्थतन्त्र

एक मिनेटसम्मका भ्वाइस मेसेज पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेटसम्मको प्रि रेकर्डेड व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ  ।  यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ  ।  कम्पनीले केही समय देखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो  ।  

यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो  ।  कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरुमा पु¥याउनका लागि यो सेवा उपयोगी छ  ।  कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि कल गर्नुपर्ने नम्बरहरुको सूची र सन्देश सहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएर निश्चित प्रक्रिया पुरा गरे पश्चात यो सेवा उपलब्ध हुन्छ  ।  

यस आउटबाउन्ड आइभीआर सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको फोनमा सन्देश आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीको रुपमा देखिन्छ  ।  सेवा सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी यो सेवा लिन सक्नु हुनेछ  । 

सेवा प्रदायक वा ग्राहकले तोकेको नम्बरहरुमा स्वचालित रुपमा कल गर्न सकिने यस प्रकृतिको सेवाको माग बढ्दै जाने  कम्पनीको विश्वास छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्