नेभिगेशन
अर्थतन्त्र

नाडा अटो सो सुरु

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा मंगलबारदेखि  ‘नाडा अटो सो–२०२६’ सुरु भएको छ  । 
नाडा अटो सोको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्नेमा जोड दिँदै नेपालमा जलविद्युत् उत्पादन बढ्दै गएकाले अब विद्युतीय सवारी साधनको प्रयोग नै उत्तम विकल्प भएको बताए । 
 अटोमोबाइल्स क्षेत्र मुलुकको अर्थतन्त्रको मेरूदण्ड बनिसकेकाले अब स्वदेशमैै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने धारणा पनि उनले राखे ।
अटो पाट्र्स र एसेसरिजतर्फ स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै युवालाई स्वदेशमै रोजगारी, तालिम र प्राविधिक ज्ञान दिलाउनुपर्ने उनको धारणा रहेको छ । 
जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने पनि उनले बताए  ।  
इन्धन आयातमा अबौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको धारणा राख्दै उनले मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो सो ले खेलेको भूमिकाको उच्च प्रशंसा गरे  ।  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले सुस्त बजार, कमजोर माग र खस्किँदो व्यावसायिक मनोबलका कारण मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताए  । 
आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो कठिन समय कहिल्यै नदेखेको भन्दै उनले सरकारले यसपालीको बजेटमार्फत उच्च आर्थिक वृद्धि, प्रति व्यक्ति आय वृद्धि र लाखौं रोजगारी सिर्जना गर्ने जस्ता ठूला लक्ष्य घोषणा गरे पनि स्पष्ट रणनीति, ठोस नीति र कार्ययोजनाको अभाव रहेको बताए  । 
घोषणामा सीमित नभई देशको अर्थतन्त्रलाई गति दिन समग्र पुर्नसंरचना आवश्यक भएको बताउँदै उनले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए  ।  ‘यो क्षेत्रलाई केवल उपभोग्य वस्तु नभई राजस्व र रोजगारीको मुख्य आधारको रूपमा लिन आवश्यक छ,’ श्रेष्ठले भने  ।  उनले विभिन्न कारणले बन्द भएका देशको उद्योग सरकार आफैं चलाउन खोज्नुभन्दा निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारको ध्यानाकर्षण गराए  । 
‘बन्द भएका पुराना उद्योग सञ्चालन गर्ने सोच राम्रो भए पनि हाल चुनौतीपूर्ण अवस्थामा चलिरहेका र नयाँ सञ्चालित आन्तरिक उद्योग नडुबुन भन्नेतर्फ सरकार सचेत हुनुपर्छ  ।  निजी क्षेत्रलाई उपक्षा गर्दा भुइँको टिप्दा पोल्टाको खस्ला,’ उनले भने  । 
श्रेष्ठले बढ्दो युवा पलायन रोक्नका लागि देशभित्र रोजगारी र ज्याला बढाउनुपर्नेमा जोड दिंदै महासंघ सरकारले लिएको १०० बिलियन डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिलमा सहकार्य गर्न तयार रहेको बताए  । 
 नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ( नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल्स क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नभएर उद्योग, बैंकिङ, बीमा, रोजगारी र राजश्वसंग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए  ।  उनले अटोमोबाइल्स क्षेत्रलाई सरकारले राजश्वको स्रोतका रुपमा मात्र नहेरि आर्थिक गतिविधि विस्तार गर्ने प्रमुख साझेदारका रूपमा लिन आग्रह गरे  ।  
नाडा अध्यक्ष उप्रेतीकाअनुसार अटोमोबाइल्स क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ  ।  यस क्षेत्रबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजश्व उठ्ने गरेको छ  ।  उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए  ।  उनले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन माग गरे  ।  उनले करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भएको भन्दै नीतिगत स्थिरताको माग गरे  । 
सवारी साधनलाई ‘विलासी’ वस्तुका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले सवारी साधन नागरिकको आवतजावत, व्यवसाय र रोजगारीसँग जोडिएको मुख्य आवश्यकता बनिसकेकाले सरकारले सक्दो करछुट दिनुपर्ने माग गरे  ।  उप्रेतीले नेपालमै एसेम्बल भइरहेका सवारी साधन र यसको स्थायित्वका लागि कम्पोनेन्ट (पाटपुर्जा) उद्योगको आवश्यकता औंल्याए  ।  
देशमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेकोबारे सरकारको ध्यानाकर्षण गराउँदै उप्रेतीले भने, ‘मुलुकको जनसंख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन सकेको छैन, त्यसैले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउनुपर्छ भन्ने हाम्रो माग हो  । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्