काठमाडौं । मुलुकको जलविद्युत् उत्पादन र आपूर्ति प्रणालीको मुख्य मेरुदण्ड मानिने भोटेकोशी र त्रिशूली नदी बेसिनमा बुधबार आएको आकस्मिक र भीषण बाढीले ठूलो विध्वंस गरेको छ । नदी किनार तथा जलाधार प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौं आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनाहरूमा बाढीले गम्भीर क्षति पुगेको छ ।
बाढीको यो विनाशकारी प्रकृतिका कारण संघीय राजधानी काठमाडौं उपत्यकाका औद्योगिक तथा गार्हस्थ क्षेत्रमा चरम विद्युत् कटौती हुने जोखिम बढेको छ ।
बाढीको प्रत्यक्ष र विनाशकारी प्रभावका कारण भोटेकोशी र त्रिशूली नदी बेसिनमा नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका प्रवद्र्धकहरूबाट सञ्चालनमा रहेका कुल १२ वटा विद्युत् उत्पादन केन्द्रहरू पूर्ण रूपमा बन्द भएका छन् । यसका कारण राष्ट्रिय ग्रिडबाट कुल ४३१.१ मेगावाट विद्युत् आपूर्ति ठप्प भई प्रणाली बाहिर गएको छ ।
नेपाल विद्युत् प्राधिकरण र इप्पानका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीद्वारा रसुवा जिल्लामा सञ्चालित १११ मेगावाट क्षमताको यो ठूलो जलविद्युत् आयोजना बाढीको चपेटामा परी पूर्ण रूपमा बन्द भएको छ । यस आयोजनाको बन्दले राष्ट्रिय ग्रिडलाई सबैभन्दा ठूलो धक्का पु¥याएको छ । यसैंगरी साला सुंगी पावर लिमिटेडद्वारा सञ्चालित ७८ मेगावाट क्षमताको यो आयोजना पनि बाढीका कारण बन्द भएको छ र उत्पादन ठप्प भएको छ ।
सान्जेन जलविद्युत् कम्पनी मातहत सञ्चालनमा रहेको ४२.५ मेगावाटको यो आयोजना पनि प्रणालीबाट विच्छेद भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना पनि पूर्ण रूपमा ठप्प बनेको छ । चिलिमे जलविद्युत् कम्पनीद्वारा सञ्चालित रसुवाको २२ मेगावाट पनि बन्द भएको छ । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा सञ्चालित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना बाढीका कारण प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा नुवाकोटमा सञ्चालित ६० मेगावाटको मुख्य सरकारी आयोजना पनि पावर हाउसमा मर्मत कार्य चलिरहेकै अवस्थामा बाढीले क्षति पु¥याउँदा बन्द भएको छ । माथिल्लो मैलुङ जलविद्युत् आयोजनाबाट उत्पादित १४.८ मेगावाट विद्युत् बाढीका कारण अवरुद्ध भएको छ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडद्वारा रसुवामा सञ्चालित ५ मेगावाटको आयोजना पनि बाढीका कारण बन्द छ । प्राधिकरण मातहत नुवाकोटमा सञ्चालित २४ मेगावाटको यो ऐतिहासिक जलविद्युत् केन्द्र बन्द भएको छ । १४ मेगावाट क्षमताका देवीघाट जलविद्युत् केन्द्र पनि पूर्ण रूपमा ठप्प बनेको छ । नुवाकोटमा अवस्थित प्राधिकरणको २५ मेगावाटको सौर्य प्लान्टमा समेत बाढी र भौतिक क्षति पुगेका कारण उत्पादन ठप्प भएको छ ।
एकै पटक ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न अत्यन्त कठिन हुने र अस्थायी लोडसेडिङ वा आपूर्ति अवरोध हुन सक्ने जोखिम बढेको छ ।
निर्माणाधीन १५ आयोजनामा ठूलो क्षति, ४७० मेगावाट संकटमा
बाढीको विनाशकारी प्रभाव सञ्चालित विद्युत् आयोजनाहरूमा मात्र सीमित छैन । भोटेकोशी र त्रिशूली नदी बेसिनमा निर्माणाधीन अवस्थामा रहेका कुल ४७० मेगावाट क्षमताका १५ वटा विभिन्न जलविद्युत् आयोजनाहरूमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
रसुवा जिल्लामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको साझेदारी रहेको २१६ मेगावाटको यो विशाल जलविद्युत् आयोजना बाढीबाट नराम्ररी प्रभावित भएको छ ।
लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालिद्वारा रसुवामा निर्माणाधीन १२० मेगावाटको यो आयोजना पनि क्षतिग्रस्त बनेको छ । माथिल्लो त्रिशूली जलविद्युत् कम्पनी मातहत नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यो आयोजनामा भौतिक क्षति पुगेको छ ।
पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिको १५.६ मेगावाट क्षमताको यो आयोजना पनि क्षतिग्रस्त छ । इनर्जी इन्जिनियरिङ प्रालिद्वारा रसुवामा निर्माणाधीन ६.४२ मेगावाटको यो आयोजना बाढीको चपेटामा परेको छ ।
निर्माणाधीन यी १५ वटा आयोजनाहरूमा अर्बौं रुपैयाँ बराबरको लगानी भइसकेको थियो । बाढीले कतिपय आयोजनाका बाँध, सुरुङका प्रवेशद्वार, निर्माण उपकरणहरू र निर्माण सामग्रीहरू बगाएको वा पुरेको हुँदा नेपालको राष्ट्रिय ऊर्जा उत्पादनको लक्ष्यमा यसले गम्भीर धक्का पु¥याएको छ ।
प्रसारण र वितरण प्रणाली ठप्प, रसुवा अन्धकारमा
बाढी र पहिरोले यस क्षेत्रका मुख्य सबस्टेसन र प्रसारण लाइनहरूमा व्यापक क्षति पु¥याएको छ । त्रिशूलीमा रहेको २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यो सबस्टेसन क्षतिग्रस्त हुँदा रसुवा र नुवाकोटका भौतिक रूपमा सुरक्षित आयोजनाहरू समेत राष्ट्रिय प्रणालीबाट स्वतः विच्छेद हुन पुगेका छन् । यस्तै, चिलिमे २२० केभी हब सबस्टेसनको टावर अवरुद्ध हुँदा यो हब पूर्ण रूपमा बन्द भएको छ ।
धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेको छ र यसलाई डोजर प्रयोग गरी लेदो सफा गर्ने कार्य भइरहेको छ । प्राकृतिक विपद्का कारण रसुवा जिल्ला पूर्ण रूपमा विद्युत् आपूर्तिविहीन बनेको छ भने नुवाकोट, धादिङ र गोरखा जिल्लाहरूमा आंशिक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । साथै ११ केभी क्षमताका कैयौं विद्युत् पोलहरू र ट्रान्सफर्मरहरू पनि क्षतिग्रस्त भएका छन् ।
सम्पर्कविहीन कर्मचारी र कामदारहरू
बाढीका कारण धेरै आयोजना स्थलमा सञ्चार विच्छेद र बाटो अवरुद्ध हुँदा सयौं कर्मचारी र कामदारहरूको अवस्था अज्ञात छ ।
कर्मचारी तथा मानवीय क्षति पनि गम्भीर छ । त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली –३बी साइटमा २१ जना कर्मचारी सम्पर्क बाहिर छन् । चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा ६ जना र आवास क्षेत्र वरपर १ जना सम्पर्कविहीन छन् । चेरुको कम्पनीमार्फत त्रिशूली –३बी साइटमा कार्यरत ११ जना पनि सम्पर्क बाहिर छन् । रसुवागढी जलविद्युत् केन्द्रमा दर्जनौं कर्मचारी सम्पर्कविहीन रहेको विवरण आएको छ । त्रिशूली –३ए पावर हाउसमा मर्मतकार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । प्राधिकरणको त्रिशूली र देवीघाट केन्द्रमा एक–एक जना कर्मचारी सम्पर्क बाहिर छन् । रसुवा वितरण केन्द्रका कर्मचारी र मिटर रिडर पनि सम्पर्कमा छैनन् । त्रिशूली २२० केभी ३बि हब सवस्टेशनमा ठेकेदारका १६ जना र रसुवागढीमा विभिन्न ठेकेदारमार्फत मर्मत तथा निर्माणमा संलग्न दर्जनौं व्यक्ति सम्पर्कविहीन छन् । यी सबैको खोजी तथा उद्धार कार्य स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणको समन्वयमा जारी छ ।
वितरण प्रणालीतर्फ रसुवा जिल्ला पूर्णरूपमा विद्युत् अवरुद्ध छ भने नुवाकोट, धादिङ र गोरखा आंशिक रूपमा प्रभावित छन् । धादिङको जहरे ३३ केभी सवस्टेशनमा करिब ५ फिट लेदो जमेकाले डोजर प्रयोग गरी सफाइ गरिएको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
प्रसारण प्रणालीतर्फ त्रिशूली स्थित २२० केभी ३बी हब सवस्टेशन पूर्णरूपमा क्षतिग्रस्त छ । चिलिमे २२० केभी हब टावर अवरुद्ध भएकाले बन्द भएको छ ।
सम्पर्कविहीन कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायसँग समन्वय गरी विवरण संकलन र खोजी–उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्र चिन्तित
बाढीका कारण भएको जनधनको क्षतिले निजी क्षेत्र चिन्तित भएको छ । पूर्वाधारमा भएको क्षतिले लगानीकर्तालाई झस्काएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत् आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सबै सुरक्षा निकायलाई आग्रह गरेको छ । प्रभावित आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन अनुरोध गरेको छ ।
इप्पानले सम्पूर्ण निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई विपद्बाट प्रभावित नागरिक तथा विद्युत् आयोजनाको उद्धार, राहत र पुनस्र्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न हार्दिक आग्रह गरेको छ । क्षतिग्रस्त विद्युत् आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत अनुरोध गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले पनि बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै उच्च जोखिममा रहेका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ । महासंघले सरकारी निकायबाट पूर्व राजमार्गसहित त्यस वरपरका सडकहरूमा आवागमन रोक्न आग्रह गरिएको अवस्थामा तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी–व्यवसायी, सर्वसाधारण तथा यात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीबाट सर्वसाधारणका घर, उद्योगी–व्यवसायीका पसल, निजी तथा सार्वजनिक सवारी साधन, मालवाहक सवारी साधन तथा भण्डारण यार्डमा रहेका सवारी साधन, पुल, जलविद्युत् गृहलगायतका भौतिक संरचनामा धेरै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै भविष्यमा गर्नुपर्ने पुनस्र्थापनाको काममा पनि महासंघ सधैं साथमा रहने जनाएको छ ।