नेभिगेशन
स्वास्थ्य

घाइतेको उद्धारका लागि कामपाको ६  एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएकालाई तत्काल अस्पताल पु¥याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ । महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ । 
त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने बिरामीको सहज उपचारका लागि दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । विपद्को यस समयमा बिरामी वा घाइतेलाई अस्पताल पु¥याउन एम्बुलेन्स आवश्यक परेमा तत्काल १०२ मा फोन गर्न महानगरपालिकाले सबैमा अनुरोध गरेको छ । उक्त एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले अस्पताल लैजाँदै गर्दा बाटोमा आवश्यक पर्ने आकस्मिक उपचार समेत उपलब्ध हुने जनाइएको छ ।
यस्तै पोखरा महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने भएको छ । अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाइने नगरप्रमुख धनराज आचार्यले बताए । उनका अनुसार सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको छ । प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्