नेभिगेशन
स्वास्थ्य
स्वास्थ्य

हातको बलियो पकड र स्वास्थ्यको सम्बन्ध

हातको बलले शारीरिक र मानसिक क्षमतामा आउन सक्ने गिरावटको सुरुमै संकेत दिन सक्छ
‘पकड बलियो बनाऊ’ भन्ने भनाइ हामीले सुन्दै आएका छौं । पछिल्लो समय हातको बल बढाउने विभिन्न अभ्यास लोकप्रिय भइरहेका छन् । झुन्डिएर शरीरको तौल थाम्ने, दुवै हातमा भारी सामान बोकेर हिँड्ने र हातले निचोर्ने उपकरण प्रयोग गर्ने अभ्यासले धेरैको ध्यान तानेको छ । यसको एउटा प्रमुख कारण सन् २०१५ मा चिकित्सा क्षेत्रको चर्चित शोधपत्रिका ‘द ल्यान्सेट’मा प्रकाशित अध्ययन थियो । उक्त अध्ययनले हातको पकड बल (ग्रिप स्ट्रेन्थ) र लामो आयुबीच सम्बन्ध रहेको देखाएको थियो ।
१७ देशका एक लाख ३९ हजार ६९१ जनालाई औसत चार वर्षसम्म अध्ययन गर्दा हातको पकड बल प्रत्येक पाँच किलोग्रामले घट्दा जुनसुकै कारणबाट मृत्यु हुने जोखिम १६ प्रतिशतले बढेको अनुसन्धानकर्ताले पाएका थिए । मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम भने १७ प्रतिशतले बढेको थियो । अनुसन्धानमा हातको पकड बलले माथिल्लो रक्तचापभन्दा पनि मृत्युको जोखिमबारे राम्रो संकेत दिने देखिएको थियो ।
तर हातको पकड बल बढाउने अभ्यास नियमित गर्दैमा आयु लम्बिन्छ भन्ने होइन । यद्यपि, यस्तो अभ्यास समग्र स्वास्थ्यको अवस्था बुझ्ने एउटा राम्रो माध्यम हुन सक्छ ।
अमेरिकाको ओहायो विश्वविद्यालयका शरीर विज्ञानका प्राध्यापक ब्रायन क्लार्कका अनुसार मांसपेशी स्नायु प्रणालीको नियन्त्रणमा रहने अन्तिम कडी हुन् । शरीरमा बल उत्पन्न गर्न मस्तिष्कले निरन्तर विद्युतीय संकेत उत्पादन गर्नुपर्छ र स्नायुमार्फत ती संकेत मांसपेशीसम्म पुग्नुपर्छ । यो प्रक्रियाको कुनै पनि भागमा समस्या आएमा मांसपेशीको बल घट्छ ।
हातको पकडलाई विशेष अर्थपूर्ण बनाउने पक्ष यसको जटिलता हो । कुनै वस्तुलाई बलियोसँग समात्न मस्तिष्कले हात र नाडीका ३९ वटा मांसपेशीलाई एकैसाथ समन्वय गर्नुपर्छ । यति धेरै मांसपेशीलाई एकैपटक नियन्त्रण गर्नु स्नायु प्रणालीका लागि जटिल काम हो । यही कारण सबै औँलाले एकैसाथ बल लगाउँदा प्राप्त हुने शक्ति प्रत्येक औंलाले छुट्टाछुट्टै लगाउने बलको कुल योगभन्दा कम हुन्छ ।
सन् २०२४ मा ‘एजिङ क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च’मा प्रकाशित एउटा सानो अध्ययनले पनि यस्तो देखाएको थियो । वृद्धवृद्धामा गरिएको उक्त अध्ययनमा हातका औंलाले एकैसाथ लगाउने बलमा देखिने कमी स्मरण तथा सोचाइसम्बन्धी परीक्षणमा कम अंक ल्याउने व्यक्तिमा अझ बढी पाइएको थियो ।
यसले अर्को रोचक सम्भावनातर्फ संकेत गर्छ । कमजोर हुँदै गएको हातको पकडले मानसिक क्षमतामा आउन सक्ने गिरावटको पूर्वसंकेत पनि दिन सक्छ । बेल्जियमको ब्रसेल्सस्थित भ्रीजे विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी अनुसन्धानकर्ता इभान बाउटमन्सका अनुसार सजिलै गर्न सकिने र कम खर्च लाग्ने मांसपेशी बल परीक्षणले स्वास्थ्यमा आउन सक्ने समस्याबारे समयमै जानकारी दिन सक्छ ।
उनले सहलेखन गरेको र गत जुनमा ‘न्युरोसाइन्स एन्ड बायोबिहेभियरल रिभ्युज’मा प्रकाशित एउटा अध्ययनले यसलाई थप पुष्टि गरेको छ । उक्त अध्ययनमा करिब तीन लाख ८० हजार मानिस सहभागी भएका ६० वटा अनुसन्धानको विश्लेषण गरिएको थियो । एक वर्षदेखि २२ वर्षसम्म सहभागीलाई पछ्याइएका ती अध्ययनमा बलियो पकड भएका व्यक्तिमा मानसिक क्षमतामा गिरावट आउने सम्भावना १९ प्रतिशत कम पाइएको थियो ।
हातको पकड बलमा हुने असमानता पनि स्वास्थ्यको अर्को उपयोगी सूचक हुन सक्छ । सामान्यतया मानिसको बढी प्रयोग हुने हात अर्को हातभन्दा करिब १० प्रतिशत बलियो हुन्छ । तर दुई हातको बलमा योभन्दा धेरै अन्तर देखिएमा त्यसलाई अर्थपूर्ण संकेतका रूपमा लिन सकिन्छ ।
अप्रिलमा ‘आर्काइभ्स अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स’मा प्रकाशित एउटा अध्ययनले नौवटा समूहगत अनुसन्धानका तथ्यांक विश्लेषण गरेको थियो । ती अध्ययनमा करिब नौ लाख मानिस सहभागी थिए र केहीलाई धेरै वर्षसम्म पछ्याइएको थियो । अध्ययनअनुसार दुई हातको पकड बलमा ठूलो अन्तर भएका व्यक्तिमा मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम २९ प्रतिशत बढी थियो । सम्भवतः स्नायु प्रणालीमा हुने समस्याले मुटु र रक्तनलीको नियन्त्रणमा पनि असर पार्ने भएकाले यस्तो भएको हुन सक्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार दुवै हातको बल तुलना गर्दा स्नायु र मांसपेशीबीचको समन्वयमा देखिएका सूक्ष्म समस्या पत्ता लगाउन सकिन्छ । एउटा हातको मात्र परीक्षण गर्दा यस्ता समस्या छुट्न सक्छन् ।
यसको कारण मस्तिष्कको काम गर्ने तरिकासँग सम्बन्धित हुन सक्छ । मस्तिष्कको एउटा भागले मुख्यतः शरीरको विपरीत दिशाको हात नियन्त्रण गर्छ । स्नायु प्रणालीमा हुने क्षति वा कमजोरी पनि दुवैतर्फ समान रूपमा नबढ्न सक्छ । त्यसैले एउटा हातको बल अर्को हातको तुलनामा निकै कमजोर हुन सक्छ । बाउटमन्सका अनुसार एउटा हातको पकड बल अर्को हातको तुलनामा आधा मात्रै हुन थालेको छ भने त्यसलाई स्वास्थ्यमा भइरहेको तीव्र गिरावटको संकेतका रूपमा लिन सकिन्छ ।
यद्यपि, हातको पकड कमजोर हुनु वा दुई हातको बलमा असमानता देखिनु मात्रै कुनै रोगको निदान होइन । तर, यस्तो अवस्था देखिएमा थप स्वास्थ्य परीक्षण आवश्यक हुन सक्छ ।
हातको पकड बल बढाउने अभ्यासमा रुचि राख्नेहरूका लागि पनि एउटा सकारात्मक पक्ष छ । अनुसन्धानले शरीरका विभिन्न भागका मांसपेशीलाई बलियो बनाउने व्यायामले मानसिक क्षमता चुस्त राख्न सहयोग गर्ने देखाएको छ । त्यसैले हातको पकड बलियो बनाउने अभ्यास जारी राख्नुहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्