बुधबार अचानक भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवार तथा समुदायप्रति चलचित्र क्षेत्रले गहिरो दुःख व्यक्त गरेको छ ।
चलचित्र विकास बोर्ड, चलचित्रका विभिन्न संघसंस्थासँगै चलचित्र निर्माताहरूले व्यक्तिगत रूपमा विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोले गरेको अपूरणीय जनधनको क्षतिका बेला सतर्क रहन र विपद्को समयमा एकअर्काको सहारा बन्न आग्रह गरेका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले बुधबार विज्ञप्ति जारी गर्दै थप क्षति हुन नदिन सबै नागरिकलाई सावधानी अपनाउन तथा नेपाल सरकारबाट भइरहेका उद्धार र राहतका प्रयासमा सहयोग गर्न आग्रह गरेका छन् ।
बोर्डले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । बेपत्ता नागरिकको शीघ्र खोजी तथा सकुशल उद्धार, घाइतेको स्वास्थ्यलाभ र विस्थापित परिवारलाई सुरक्षित आश्रयको व्यवस्था हुनुपर्नेमा पनि बोर्डले जोड दिएको छ ।
विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक तथा उद्धारकर्मीप्रति बोर्डले उच्च सम्मान व्यक्त गरेको छ ।
बोर्डले नदी, खोला तथा पहिरोको जोखिम भएका भिरालो क्षेत्रबाट तत्काल टाढा रहन, अत्यावश्यकबाहेक यात्रा नगर्न र बढेको पानीमा सवारीसाधन वा पैदल यात्रा गरी खोला तथा नदी पार गर्ने प्रयास नगर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा मौसम पूर्वानुमानसम्बन्धी आधिकारिक सूचनालाई गम्भीरतापूर्वक पालना गर्न पनि उसले अनुरोध गरेको छ ।
विशेषगरी रातिको समयमा बढी सतर्क रहन आग्रह गर्दै बोर्डले जोखिम देखिने मात्र नभई सुनिने पनि भएकाले असामान्य आवाज तथा परिस्थितिलाई बेवास्ता नगर्न सुझाव दिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न पनि आग्रह गरिएको छ ।
बोर्डले विपद्का बेला सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाप्रति समेत सचेत रहन आग्रह गरेको छ । पुष्टि नभएका समाचार, पुराना तस्बिर तथा भिडियोलाई नयाँ घटनाका रूपमा प्रसार नगर्न र मृतक तथा घाइतेका संवेदनशील दृश्य सार्वजनिक गरेर पीडित परिवारको पीडा नबढाउन उसले अनुरोध गरेको छ ।
आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सामाजिक सञ्जालमा साझा गर्न आग्रह गर्दै बोर्डले जिम्मेवार सूचना प्रवाहलाई पनि विपद् उद्धारकै एउटा स्वरूपका रूपमा व्याख्या गरेको छ ।
चलचित्रकर्मी, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा चलचित्र क्षेत्रसँग सम्बन्धित संघ–संस्थालाई समेत बोर्डले आफ्नो क्षमता र पहुँचअनुसार राहत, उद्धार, जनचेतना तथा सही सूचना प्रवाहमा सहयोग गर्न आह्वान गरेको छ ।
‘राष्ट्र दुःखमा हुँदा नेपाली चलचित्र क्षेत्र जनताको काँधमा काँध मिलाएर उभिन्छ’ भन्ने सन्देश दिँदै बोर्डले चलचित्र क्षेत्रका व्यक्तित्वहरूको जिम्मेवार आवाजले ठूलो संख्यामा नागरिकसम्म सही सूचना र सचेतनाको सन्देश पु¥याउन सक्ने जनाएको छ ।
बोर्डले बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिको पीडा साझा राष्ट्रिय पीडा भएको उल्लेख गर्दै समयमै गरिएको एउटा फोन, सही सूचना, सुरक्षित निर्णय र सहयोगका लागि अघि बढाइएको हातले कसैको जीवन बचाउन सक्ने जनाएको छ ।
अध्यक्ष डी.सी.ले विपद्को यस घडीमा डराउनेभन्दा सचेत हुने, छुट्टिनेभन्दा जोडिने र एकअर्काको सहारा बन्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष जनकदीप पराजुलीले पनि फेसबुकमार्फत शोक वक्तव्य जारी गर्दै यस्तो दुःखद् अवस्थामा फिल्म निर्माण तथा सुटिङका कार्यहरू रोकेर उद्धारका कार्यमा सहभागी हुन आग्रह गरेका छन् ।
यसैगरी बुधबारै आफ्नो फिल्मको सांगीतिक सामग्री सार्वजनिक गर्ने कार्यलाई फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले स्थगन गरे । उनले आफ्नो फिल्म निर्माण कम्पनी कपनगढी सिनेमा प्रालिका तर्फबाट विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस पीडादायी घडीमा यस विपद्बाट पीडितहरूप्रति सम्मान, सहानूभित र एक्यबद्धता प्रकट गर्दै झिँगेदाउ २ फिल्मको बुधबार सार्वजनिक गरिने भनिएको सांगीतिक सामग्री सार्वजनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।’
निर्देशक देउजाले परिस्थिति अनुकूल भएपछि झिँगेदाउ २ फिल्मको कार्यक्रमलाई पुनः आयोजन गर्ने बताएका छन् ।