नेभिगेशन
अर्थतन्त्र

सहयोग जुट्न सुरु

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एकै दिन २७ करोड ३३ लाखभन्दा बढी सरकारी खातामा जम्मा

काठमाडौं । विपद्सँग सामानाका लागि निजी क्षेत्र सरकारका साथमा उभिएको छ । रसुवा र नुवाकोटसहितका जिल्लामा गएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेशी तथा विदेशी स्रोतबाट ठूलो परिमाणमा सहयोग जुट्न थालेको छ । निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, औद्योगिक समूह, स्थानीय तह, राजनीतिक दल, कलाकार तथा सर्वसाधारणदेखि अन्तर्राष्ट्रिय समुदायसम्मले आर्थिक तथा मानवीय सहयोगको घोषणा गरेका छन् ।
रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझ्न थालेका हुन् । 
अहिलेसम्ममा सबैभन्दा बढी गोरखा ब्रुअरीले १० करोड रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको छ । यसैंगरी कुमारी बैंकले ३ करोड, एनसेल एजियाटाले १ करोड बुझाएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै गरी एनआइसी एसिया बैंकले २ करोड २१ लाख, रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख, शिवशक्ति समूहले ५१ लाख, निफ्रा बैकले २ करोड ५० लाख रुपैयाँ उद्धार कोषमा जम्मा गरेको छ । त्यस्तै गरी सारस बेभरेजले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । 
सो कोषमा हालसम्म आधिकारिक रुपमा २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ । 
सहयोगको घोषणा गर्ने क्रम बढ्दो
बीवाइडी–साइमेक्सले ७ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । निजी क्षेत्रबाट आएको यो ठूलो सहयोग बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि परिचालन गर्ने उद्देश्यले घोषणा गरिएको हो ।
कुमारी बैंकले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नुका साथै करिब ३९ लाख रुपैयाँ बराबरका उद्धार तथा अनुगमन उपकरण उपलब्ध गराएको छ । पाँचवटा एआईयुक्त निगरानी ड्रोन, तीनवटा पोर्टेबल जेनेरेटर र एक सयवटा पावर बैंकसमेत गरी बैंकको कुल सहयोग ३ करोड ३९ लाख रुपैयाँ बराबर पुगेको छ ।
यसैगरी कोशी प्रदेश सरकारले ३ करोड रुपैयाँ, गोल्छा ग्रुपले १ करोड ५० लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको विवरण छ ।
राजनीतिक दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । स्थानीय तहहरू पनि राहत अभियानमा जोडिएका छन् । पोखरा महानगरपालिकाले ४५ लाख रुपैयाँ, तिलोत्तमा नगरपालिकाले ४० लाख रुपैयाँ, महालक्ष्मी नगरपालिकाले ३० लाख रुपैयाँ र बर्दघाट नगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।
कामना सेवा विकास बैंक र कर्मचारीबाट २५ लाख रुपैयाँ सहयोग भएको छ । यसमा संस्थागततर्फ १० लाख र कर्मचारीतर्फ १५ लाख रुपैयाँ रहेको विवरण छ ।
दातृ निकायबाट पनि आउन थाल्यो सहयोग
यसका अतिरिक्त विश्व बैंकले नेपाललाई २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहायता परिचालन गर्न सकिने जनाएको छ । अमेरिकाले ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता दिने घोषणा गरेको छ । भारतले राहत सामग्री पठाउने प्रक्रिया अघि बढाएको छ भने चीनले तत्काल नगद सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 
अन्तर्राष्ट्रिय सहयोगतर्फ सबैभन्दा ठूलो सम्भावित सहायता विश्व बैंकबाट आउने देखिएको छ । विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहायता परिचालन गर्न सकिने जानकारी दिएका छन् ।
संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता दिने घोषणा गरेको छ । उक्त सहायता आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासहितका क्षेत्रमा प्रयोग हुने बताइएको छ ।
नेपालको दक्षिणी छिमेकी भारतले प्रभावित क्षेत्रका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ । भारतबाट राहत सामग्री नेपाल ल्याउने तयारी गरिएको थियो र पछिल्लो विवरणअनुसार करिब ५० मेट्रिक टन राहत सामग्री पठाइएको छ ।
भारतको सहयोगमा खाद्यान्न, अस्थायी आश्रय तथा अन्य मानवीय आवश्यकताका सामग्री समावेश छन् । तर सामग्रीको कुल मौद्रिक मूल्य सार्वजनिक रूपमा स्पष्ट नभएकाले त्यसलाई स्वदेशी नगद सहयोगको कुल रकममा जोडिएको छैन ।
उता चीनले पनि नेपाललाई तत्काल नगद सहायता उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । चिनियाँ राजदूतले अर्थ मन्त्रालयमार्फत रकम हस्तान्तरणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । 
व्यक्तिगत रुपमा सहयोगको घोषणा जारी
व्यक्तिगत सहयोगमा पनि उल्लेख्य रकम संकलन भएको छ । राजेन्द्र राउतले ११ लाख ११ हजार रुपैयाँ, ऐरावती गाउँपालिका, प्युठानले ११ लाख ९ हजार ५ सय ६१ रुपैयाँ तथा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
कलाकार तथा सार्वजनिक व्यक्तित्वबाट पनि रकम घोषणा भएको छ । विराज भट्टले १ लाख ५१ हजार रुपैयाँ, बेनिशा पौडेल, रचना रिमाल, नीता ढुंगाना, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले १–१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै एलिना चौहान, शिव परियार, चन्द्र शर्मा, दीपिका व्याम्बु, प्रताप दास र ध्रुव हिमालीले २५–२५ हजार रुपैयाँ सहयोग गरेका छन् । बद्री पंगेनीले ५५ हजार रुपैयाँ सहयोग गरेको विवरण पनि सार्वजनिक भएको छ ।
राहतभन्दा ठूलो चुनौती पुनःस्थापना
बाढीले रसुवा र नुवाकोटमा घर तथा बस्ती मात्रै होइन, सडक, पुल, विद्युत् आयोजना, सञ्चार संरचना, व्यापारिक केन्द्र र अन्य सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पु¥याएको छ । त्यसैले अहिले संकलन भइरहेको रकम तत्काल खाद्यान्न र आवासमा खर्च गरेर मात्रै समस्या समाधान हुने अवस्था छैन ।
प्रभावित परिवारलाई तत्काल राहत दिनुका साथै विस्थापितको पुनर्वास, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, विद्युत् र सञ्चार सेवा पुनःस्थापना तथा जीविकोपार्जनका साधन पुनःनिर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्था रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्