नेभिगेशन
अर्थतन्त्र

निजी वायुसेवा कम्पनीले साविककै भाडामा उडान भर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण सिर्जित विपद्को घडीमा वायुसेवा सञ्चालक संघ, नेपालले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । संघले भोटेकोशी नदीमा आएको भीषण बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले ज्यान गुमाउने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघको विज्ञप्ति अनुसार, बाढी प्रभावित क्षेत्रमा संघमा आबद्ध सदस्य वायुसेवा कम्पनीका हेलिकप्टरहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन् । ती हेलिकप्टरहरूले प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री, राहत सामग्री र सुरक्षाकर्मीहरू पु¥याउनुका साथै कयौँ घाइते तथा अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्य गरिरहेका छन् ।
विपद्को समयमा हवाई टिकटको माग बढे पनि वायुसेवा कम्पनीहरूले सरकारले तोकेकै भाडा दरमा टिकट बिक्री गरिरहेको संघले स्पष्ट पारेको छ । ‘केही सेक्टरमा यात्रीहरूको अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकटहरू सकिए तापनि, मानवीय तथा सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै साविककै भाडा दर कायम राखी हवाई टिकट बिक्री वितरण भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा ‘हवाई सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ संकटको यस घडीमा आम जनसमुदायलाई सहयोग गर्न निजी वायुसेवा कम्पनीहरू तत्पर रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्