नेभिगेशन
अर्थतन्त्र

बाढी प्रभावितको सहयोगका लागि आइएमई र खल्तीमार्फत कोषमा निःशुल्क रकम पठाउन सकिने

काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति पुगेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आइएमई ग्रुपले विशेष पहल सुरु गरेको छ । 
प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने जोकोहीले आइएमईमार्फत नेपालमा पूर्ण रूपमा निःशुल्क पैसा पठाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खाताहरूमा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्नेछन् भने यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै नेपालभित्रैबाट सहयोग गर्न चाहनेहरूका लागि समेत ‘खल्ती बाइ आइएमई’मार्फत सरकारको उक्त कोषहरूमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने डिजिटल व्यवस्था मिलाइएको छ । 
आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गर्दै प्रभावित परिवारहरूको दुःखमा साथ दिन तथा सरकारको राहत र पुनर्स्थापना प्रयासमा हरसम्भव सहयोग पुर्‍याउन सबैमा अपिल समेत गरेको छ। बाढीका कारण ठुलो क्षति बेहोरेका परिवारजनप्रति आइएमई ग्रुप परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कृतज्ञता समेत प्रकट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्