नेभिगेशन
अर्थतन्त्र

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज

काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १५ करोड रुपैयाँ बराबरको बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । दुवै संस्थाका अध्यक्ष निर्वाण चौधरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । संकटको यस घडीमा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्दै दीर्घकालीन उत्थानशीलताका लागि बहुचरणीय योजना अघि सारिएको हो ।
पहिलो चरणमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण
कार्यक्रमको पहिलो चरणअन्तर्गत भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन थालिएको छ । राहत प्याकेजमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीहरू समावेश छन् । यसका साथै बाढी प्रभावितहरूलाई आवश्यक खोप तथा स्वास्थ्य सामग्री समेत उपलब्ध गराउन थालिएको छ. राहत कार्यलाई चुस्त बनाउन दुवै संस्थाका कर्मचारीहरू स्थानीय स्तरमै परिचालित भइसकेका छन् ।
नुवाकोट र रसुवामा राहत शिविर तथा ५०० अस्थायी आवास
स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक वटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ, जहाँ प्रभावितहरूलाई दैनिक भोजनको व्यवस्था गरिनेछ । बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका परिवारका लागि सरकारसँगको सहकार्यमा ५०० वटा अस्थायी (संक्रमणकालीन) आवास एकाइ निर्माण गरिनेछ । यी आवासहरू यसअघि महाभूकम्पका बेला चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुनेछन् ।
धुलिखेल अस्पतालसँगको सहकार्यमा सरुवा रोग नियन्त्रण केन्द्र
बाढीपछि फैलिन सक्ने महामारीलाई रोक्न धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ । बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइको विशेष प्रबन्ध मिलाइने विज्ञप्तिमा उल्लेख छ । यसबाहेक, दीर्घकालीन रूपमा संक्रामक रोगको निगरानी, पहिचान र रोकथामका लागि एक 'संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र' स्थापना गरिनेछ, जसले भविष्यमा आउने प्रकोप व्यवस्थापनमा संस्थागत क्षमता बढाउन मद्दत गर्नेछ ।
सरकारको तत्परताप्रति आभार र सहकार्यको प्रतिबद्धता
विपद्‌को समयमा नेपाल सरकारले देखाएको शीघ्र र सक्रिय पहल, दृढ प्रतिबद्धता तथा प्रभावकारी समन्वयप्रति चौधरी फाउन्डेसन र नबिल बैंकले हार्दिक आभार व्यक्त गरेका छन् । अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतमा मात्र सीमित नभई उद्धार, अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीको सम्पूर्ण यात्रामा सरकारसँग निकट समन्वयमा रही पारदर्शी र व्यवस्थित रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्