नेभिगेशन
प्रवास

नेपालका बाढीपीडितलाई उद्धार र राहतमा सघाउन इजरायल तयार

काठमाडौँ । नेपालका रसुवालगायत विभिन्न क्षेत्रमा हालै गएको विनाशकारी बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले गहिरो दुःख व्यक्त गरेका छन् । 
भिडियो सन्देश जारी गर्दै राजदूतले इजरायल सरकार र त्यहाँका जनताका तर्फबाट मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।बाढीका कारण ज्यान गुमाएका, घाइते भएका र घरबारविहीन भएका परिवारहरूप्रति सहानुभूति जनाउँदै उनले विपद्को यस कठिन घडीमा इजरायल नेपालको साथमा रहेको बताए।
बाढीमा परेर दुई जना इजरायली नागरिक पनि बेपत्ता भएको जानकारी दिँदै राजदूत बासले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको बताए।
खोज तथा उद्धार, राहत, पुनःस्थापना र मानवीय सहायताका क्षेत्रमा नेपाल सरकारलाई आवश्यक जुनसुकै सहयोग गर्न इजरायल प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । साथै, जोखिमपूर्ण परिस्थितिमा पनि ज्यान जोखिममा राखेर उद्धारमा खटिएका नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको साहस र योगदानको उनले उच्च प्रशंसा गरे ।
नेपाल र इजरायलबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्दै उनले जुनसुकै विपद्‌मा पनि नेपाली जनताले देखाउने धैर्यता र एकता अनुकरणीय रहेको बताए। राजदूतले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारको आशा व्यक्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्